मलमास प्रारम्भ: अधिकमासमा के गर्नुहुन्छ, के गर्न हुँदैन ?
सुरेशचन्द्र रिजाल
काठमाडाैं, २ साउन । सामान्यतया प्रत्येक वर्षमा १२ महिना हुन्छन्, तर पूर्वीय गणना पद्धति अर्थात् ज्योतिषीय चन्द्रपञ्चाङ्गअनुसार तीन वर्षमा एकपटक थप महिना आउँछ । जसलाई अधिकमास, मलमास वा पुरुषोत्तममास भनिन्छ । २०८० सालको साउन २ गतेबाट अधिकमास छ । यसकारण २०८० सालको साउन महिना ५९ दिनको अर्थात् दुई महिनाको छ ।
प्रत्येक तीन वर्षमा एकपटक एउटा अतिरिक्त महिना आउँछ । अधिकमासमा गरिने पूजा, व्रत र ध्यानको महत्त्व अद्वितीय छ । के तपाईलाई थाहा छ, प्रत्येक तीन वर्षमा एकपटक मलमास किन र के कारणले हुन्छ ? यसको पौराणिक आधार के छ ? यसको महत्व के छ ? यसमा के गर्नु पर्दछ ? र के गर्न हुँदैन ?
मलमास प्रत्येक तीनवर्षमा किन र के कारणले हुन्छ ?
प्राचीन नेपाली समाजमा समय निर्धारणको एकमात्र आधार भनेको ज्योतिषीय गणनाबाट तयार पारिएको पात्रो थियो । जसलाई सूर्य पात्रो र चन्द्रपात्रो भनेर नामकरण गरिन्थ्यो । सूर्यको गतिलाई आधार मानेर समयको निर्धारण गरिने सूर्यपात्रो हो भने चन्द्रको गतिलाई आधार मानेर समयको निर्धारण गर्ने पात्रो चन्द्रपात्रो हो । सूर्यको गतिलाई आधार मानेर गणना गर्दा वर्षमा ३६५ दिन हुन्छन् । चन्द्रको गतिलाई आधार मानेर गणना गर्दा वर्षमा ३५४ दिन हुन्छन् । यसरी हेर्दा सूर्यलाई आधार मानेर गणना गर्दाभन्दा चन्द्रमालाई आधार मानेर गणना गर्दा एक वर्षमा ११ दिनको कम हुन्छन् । यही क्रमले तीन वर्षमा ३३ दिन कम हुन्छन् । यी ३३ दिन तीन वर्षपछि थप महिना हुन्छ । यो थप ३३ दिन एक महिनामा थपिन्छ, जसलाई अधिकमास नाम दिइएको छ ।
चन्द्रमाका आधारमा गणना गरिने पात्रोमा ३२ महिना १६ दिन ८ घण्टाको गणना पश्चात् बन्ने वर्षको अतिरिक्त भाग नै अधिकामास हो । यसले खाडल पूरा गर्ने वा सूर्य र चन्द्र वर्षबीच सन्तुलन सिर्जना गर्न अधिकमासको भूमिका महत्त्वपूर्ण छ । यसो गर्नाले सूर्य पात्रो र चन्द्रपात्रोका आधारमा निर्धारण गरिने चाडपर्वको मितिहरूमा कुनै परिवर्तन हुँदैन र तिथिमितिमा एकरूपता रहन्छ, साथसाथै अधिकामाका कारणले समयावधिको गणनालाई व्यवस्थित बानाउन मद्दत गर्दछ ।
अधिकमासको पौराणिक आधार के छ ?
पुराणका आधारमा एकपटक दैत्यहरूका राजा हिरण्यकश्यपले अत्यन्तै कठोर तपस्या गरेर भगवान् ब्रह्मालाई प्रशन्न गरी अमरत्वको वरदान मागे । यो संसार ईश्वरको इच्छाले क्षणभरमा नै समाप्त हुने र म स्वयं पनि अमर छैन । त्यसैले तिमीलाई अमरत्त्वको वरदान प्रदान गर्दिनँ । यसको बदलामा अरु कुनै वरदान माग, तिमीलाई त्यो उपलब्ध गराउँला । ब्रह्माको यस्तो वचन सुनेपछि हिरण्यकश्यपले ब्रह्माजीसँग तत्कालै संसारको कुनै पनि पुरुष, महिला, पशु, देवता वा राक्षसले मलाई मार्न नसकोस् र वर्षको १२ महिनामा पनि मेरो मृत्यु नहोस् । मेरो मृत्यु न दिउँसो न रातमा होस् । म न कुनै हतियारले मरौँ । मलाई न घरभित्र मार्न सकुन् न घरबाहिर मार्न सकुन् भनेर वरदान दिन आग्रह गर्यो । ब्रह्माजीले पनि तथास्तु भनिदिनु भयो ।
वरदान पाउने बित्तिकै हिरण्यकश्यपले आफूलाई अमर तथा यस संसारमा भएका सबैभन्दा ठूलो मान्न थाल्यो । यसरी संसारलाई यस राक्षसले भयभित बनाएको हुँदा यसबाट छटकारा दिनका लागि भगवान् विष्णुले नरसिंह (आधा मान्छे तथा आधा सिंह) अवतार धारण गरी अधिकामसमा प्रकट हुनुभयो । आफ्नो काखमा राखेर ब्रह्माजीबाट प्राप्त वरदानलाई कुनै पनि तरिकाले प्रभावित नपर्ने गरी तिखानङ्गका माध्यमले मृत्युको द्वारमा पठाउनुभयो । यसरी संसारलाई भयभीत पार्ने नकारात्मक प्रवृत्तिको अन्त्य गर्नका लागि भगवानको अवतार भएको महिनाका रूपमा अधिकमासको महत्त्व पुराणमा विशेषरूपमा चर्चा गरिएको छ ।
अधिकमासको महत्त्व
पूर्वीय खोज र अध्ययनले यो संसार पाँच तत्व (पृथ्वी, जल, अग्नी, वायु र आकाश ) मिलेर बनेको छ भन्ने कुरालाई प्रमाणित गर्छ । यस संसारमा रहेका प्रत्येक प्राणीहरू यिनै पाँच तत्त्वबाट बनेका हुन्छन् । धार्मिक कार्यका साथसाथै दान, ध्यान, योग आदिको माध्यमबाट आफ्नो शरीरमा रहेका यी पञ्चमहाभूतहरूको उजागर गर्नु मानवीय जीवनको वास्तविक उद्देश्य हो । सम्पूर्ण ग्रहहरूको सम्यक् योग, प्रकृतिको तादात्म्य आदिलाई केन्द्रमा राखेर साधना गर्नाले मञ्चमहाभूतहरूको यथाशीग्र सन्तुलन कायम हुने हुँदा सूर्य र चन्द्रको गति व्यवस्थित गर्नका लागि निर्माण भएको अधिकमासमा गरिने साधनाले तुलनात्मकरूपामा छिटै ऊर्जा प्राप्त हुने प्रमाणहरू शास्त्रमा पाइन्छन् ।
यस महिनामा देवताहरू विशेष सक्रिय हुने र प्रार्थना स्वीकार गर्ने पौराणिक मान्यता छ । यस समयमा मानिसहरूले आध्यात्मिक मार्गदर्शन खोज्ने र धार्मिक अनुष्ठानहरू सञ्चालन गर्ने तथा सेवाका कार्यहरू गर्नु पर्दछ । यसरी सधना र सेवाका माध्यबाट सन्तुलित जीवनयापनको प्रयास गर्ने समयलाई अधिकमास भन्दा अत्युक्ति हुँदैन । प्रत्येक तीन वर्षमा आउने अधिकमासमा गरिने पवित्र कर्मले शारीरिक पवित्रता प्राप्त गरिन्छ यसकै माध्यमले मानिसमा नयाँ आध्यात्मिक ऊर्जा प्राप्त हुने महत्त्व ग्रन्थहरूमा बताइएको छ ।
अधिकमासमा के गर्नु पर्छ ?
अधिकमासमा गरिने पुजाको आफ्नै महत्व छ । यस महिनामा ब्रह्मचर्य नियमलाई पूर्णतया पालना गर्नु पर्दछ । खाटमा नसुती भुइँमा विस्तारा लगाएर सुत्ने र एकछाकमात्र खाना खाने पुरुषोत्तम भगवानको महिमा बताइएका कथा पढ्ने, सुन्ने र सुनाउनाने कार्य गर्नाले धेरै आध्यात्मिक लाभ मिल्दछ । यसै महिनामा तुलसीको विशेष तरिकाबाट पूजा गर्नाले अनन्तकालसम्म वैकुण्ठमा बास हुने पौराणिक आधार पाइन्छ । श्रीकृष्ण चरित्र, श्रीमद्भागवद्गीता, श्रीरामकथाको श्रवण तथा भगवान् विष्णुको पूजा गरिनु अत्यन्तै फलदायी मानिन्छ ।
यस समयमा गरिएको जप, तपस्या र दानबाट असीम पुण्य प्राप्त हुन्छ । यो महिना दान गरेको एक रुपैयाँले पनि सयगुणा फल दिने शास्त्रीय प्रमाणका आधारमा पनि यो महिना दान, ध्यान र साधनाको सुन्दर समय हो ।
दीपदान गर्नाले ऐश्वर्य प्राप्त हुने, वस्त्र दान गर्नाले मोक्ष प्राप्त हुने तथा मालपूवा निर्माण गरेर उपयुक्त पात्रलाई दान गर्नाले चिन्तित् सम्पूर्ण मनोकामना प्राप्त हुनुका साथै भगवानको सायुज्य प्राप्त हुन्छ । त्यसैले अधिकमासमा सकेसम्म प्रत्येक दिन नभए पनि एकदिन मालपुवा निर्माण गरी चरेसको थालमा राखेर उपयुक्त पात्रलाई दान दिनुपर्दछ ।
के गर्न हुँदैन ?
पञ्चाङ्गअनुसार तिथी, योगकरण, नक्षत्रका अतिरिक्त सबै महिनाका कुनै न कुनै देवता हुन्छन् र त्यसमयमा गरिने शुभकार्यको फल तद्देवताले प्रदान गर्दछन् तर पुरुषोत्तम महिनाका कुनै पनि निश्चित स्वामी हुँदैनन् त्यसैले सबै शुभकार्य (विवाह,व्रतबन्ध आदि) र पितृकार्य (श्राद्ध आदि) यस महिनामा गरियो भने निष्फल हुन्छन् । अतः यस समयमा कुनै पनि शुभकार्य र पितृकार्य गरिनु शास्त्रीय मानिँदैन । नित्य गरिने पुजा महिनाको उपाशना,दैनिक पुजा, विशेष साधना गर्नका लागि यो समय उपयुक्त मानिन्छ । बिबाह गरेको पहिलो पटक मलमास परेमा श्रीमान् श्रीमती दुबैले नियम पूर्वक महिना दिन बार्नुपर्दछ ।
(लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् ।)
0 प्रतिकृया