Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव

एक्सन खबर
साउन, ८, २०८०


मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव

काठमाडौ, ८ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार उकालो लागेको हो । मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै आइतबार शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

शेयर धितो कर्जामा जोखिमभार घटाएपछि यो क्षेत्रमा बैंकहरू शेयर कर्जा प्रवाह गर्न उत्साहित हुने देखिएको छ । जोखिमभार घट्ने भएपछि शेयर धितो कर्जा पनि सस्तो हुनेछ । यस कारण लगानीकर्ताहरू उत्साहित भएको जानकारहरू बताउँछन् ।

हाल शेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत छ । यसलाई घटाएर १०० प्रतिशतमा कायम गर्नुपर्ने लगानीकर्ताको माग छ । हाल जोखिमभार बढी भएकै कारण यी क्षेत्रमा कर्जा प्रवाह खासै हुन सकेको छैन ।

त्यस्तै राष्ट्र बैंकले नीतिगत दर पनि घटाएको छ । यसकारण पनि अब विस्तारै ब्याजदर घट्दै जाने देखिन्छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५१ प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ०८ प्रतिशत वृद्धि भएको छ ।

कारोबारमा आएका २६६ धितोपत्रको १ करोड २० लाख २ हजार ३०८ कित्ता शेयर ७५ हजार ८६ पटकमा रू ४ अर्ब ३७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
 
यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको रू १४ करोड ८१ लाख बराबरको शेयर खरीद विक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू ६४५ पुगेको छ । सर्वाधिक शेयर खरीदविक्री हुनेको सूचीमा दोस्रोमा ज्योति विकास बैंक छ । कम्पनीको रू १३ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।













0 प्रतिकृया