Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


भदाै १६ देखि असाेज मसान्तसम्म एमालेकाे प्रदेश अधिवेशन

एक्सन खबर
साउन, २९, २०८०


भदाै १६ देखि असाेज मसान्तसम्म एमालेकाे प्रदेश अधिवेशन

काठमाडाैं, २९ साउन । नेकपा एमालेले भदाै १६ देखि असाेज मसान्तसम्म  प्रदेश अधिवेशनकाे मिति ताेकेकाे छ । आज सोमबार बसेको एमाले सचिवालय बैठकले सात प्रदेश र उपत्यका विशेष कमिटीकाे अधिवेशनकाे मिति ताेकेकाे पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीले भदौ १६ र १७ गते लुम्बिनी प्रदेश, असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ गते बाग्मती प्रदेशकाे अधिवेशन गर्नेछ । त्यस्तै असाेज, १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशकाे अधिवेशन गर्ने निर्णय गरेकाे उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने ज्ञवालीले जनाए । वडा र टोलमा ४० वर्षमुनिका कम्तीमा एक तिहाइ युवाहरू अनिवार्य समावेश हुनुपर्ने, पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरू रहनुपर्ने भनिएकाे छ ।

त्यस्तै बैठकले केन्द्रीय कमिटीको सदस्यको रूपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र बाग्मती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा ल्याउने निर्णय पनि पार्टीले गरेको छ ।

उपमहासचिव ज्ञवालीले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले उसकाे संलग्नता पुष्टि भएको दाबी गर्दै सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बन्नु अनिवार्य रहेको बताए । सरकारले सुन तस्करी प्रकरणमा अनुसन्धान ढिलाइ गर्नुले प्रमाणहरू नष्ट हुँदै जाने ज्ञवालीकाे तर्क छ ।

उच्चस्तरीय छानबिन न्यायिक समिति बनाई जरैसम्म अनुसन्धान नभए अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि नराम्रो हुनुका साथै नेपालको भूराजनीतिमा समेत असर पर्ने उनकाे भनाइ छ ।













0 प्रतिकृया