Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

एक्सन खबर
भदौ, ३१, २०८०




देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडाैं, ३१ भदाै ।स्वास्थ्यकर्मी कुटपिटकाे विराेधमा नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवाहरू बन्द गरेको छ ।

गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वय डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सेवा ठप्प पारेको हो ।

संघले शनिबार साँझ विज्ञप्ति जारी गर्दै सरकारले आफूहरूले उठाएकाे माग संवाेधन नगरेकाे भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको थियो ।घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा नल्याएको, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण नभएकाे भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गरिने संघले शनिबार सार्वजनिक गरेकाे थियाे ।

हेटौंडा अस्पतालमा भएको घटनामा संलग्न सबै दोषीहरूको छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता गर्न, स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउन संघले माग गरेको छ ।

सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न शुक्रबार तीन दिनको म्याद थप गरिजिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेकाे छ ।

भाेलीबाट देशभरका अस्पतालहरूमा आकस्मिक वाहेकका सेवा बन्दकाे घाेषणा

सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको हो ।

गत साउन २५ गते डेंगी रोगबाट संक्रमित हेटौंडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा. थापा र विडारीमाथि बुधबार हातपात तथा कुटपिट गरेका थिए ।  अस्पतालमा उपचाररत राजेश प्रधानको उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएकाे थियाे ।

देशभरका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा इमरजेन्सी सेवा वाहेक सबै सेवाहरू ठप्प हुँदा बिरामीहरू मारमा परेका छन् ।













0 प्रतिकृया