Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


तानसेनका समग्र पर्यटकीय स्थल र रानीमहल चिनाउन ट्याक्टले काम गरिरहेको दावी

एक्सन खबर
असोज, २२, २०८०




तानसेनका समग्र पर्यटकीय स्थल र रानीमहल चिनाउन ट्याक्टले काम गरिरहेको दावी

काठमाडौं, २२ असाेज । तानसेन टुरिजम एक्सन समितिका संयोजक एवम वडा न ६ का वडाध्यक्ष सागरमान महर्जनले तानसेनका समग्र पर्यटकीय स्थल र रानीमहल चिनाउन तानसेन टुरिजम एक्सन समिति (ट्याक्ट) ले कार्य गरिरहेको बताएका छन् । एक्स पल्स राइडर्स क्लब नेपालका राइडर्स  तथा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष महर्जनले यस्तो बताएका हुन् ।

एक्स पल्स राइडर्स  क्लब नेपालका राइडर्स र पर्यटन प्रबर्धनमा लागेका पत्रकारहरूको समूह नेपालका मुख्य पर्यटकिय स्थलहरूको पहिचान, प्रचार प्रसार गर्ने हेतुका साथ यात्राको चौथो दिन तानसेन दरबार, सित्तल पाटी, भगवती मन्दिर, श्रीनगरको अवलोकन गरी प्रेमको प्रतिकको उपनामले समेत परिचित रानीमहलमा रात्रीकालीन बास बस्न पुगेका थिए । करिब ६० जना पर्यटकहरू काठमाडौँबाट यात्रा शुरू गरी पर्सा, भरतपुर, बुटवल हुँदै पाल्पा पुगेका हुन् ।

वडा अध्यक्ष सागरमान महर्जनले भने, ‘रानीमहल १९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टानमाथि पश्चिमी कला काैशलको बेजोड नमूनाले सिंगारेर ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग शमशेर कहिलेकाँही आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गर्दैछ भन्ने चन्द्र शमशेरले थाहा पाए । त्यसपछि उनले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बजेकाे थाहापाएपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भएन । त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो छ ।’

रानीमहलको ऐतिहासिकता र महत्व

पाल्पा र स्याङ्जाको सीमानामा पर्ने यो दरबार खड्ग शमशेरले युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइन अनुसार बनाएका हुन् । कालीगण्डकी जलविद्युत् आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै यहाँ विदेशी पर्यटकको ओइरो लाग्थ्यो । जुन समय दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिएजस्तो देखिन्थ्यो । अहिले यो किनारमा छ । दरबारको जगबाट कालीनदी बगेपनि हालसम्म दरबारलाई भने कुनै क्षति पुर्‍याएको छैन ।

करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमहलमा २४ वटा कोठा छन् । ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङ्गमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाँध्ने तबेला ठूला घण्टाहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ । हाल तानसेन नगरपालिकाले रानीमहलको जिम्मा लिएपछि रानीमहलमा रहेका राजा, रानीले प्रयोग गरेका पुजाका सामाग्रीहरूलाई संकलन गरी म्युजियममा राखिएको छ ।

अब तानसेन नगरपालिकाले रानीमहलको थप चौतर्फी विकास गर्न पिपिई सिस्टमको माध्यमबाट निजी कम्पनीसँग सहकार्य गरी अगाडि बढ्ने सहमति भइसकेको छ । रानीमहलमा रहेको महादेवको मन्दिरमा सिक्का चढाउँदा प्रेम गाढा हुन्छ भन्ने विश्वास छ । यस कारण प्रणय दिवसको दिन रानीमहलमा बिशेष भिडभाड बढ्ने गरेको छ ।

तानसेन नगरपालिकाले रानीमहलको प्रचार प्रसारका लागि हुलाकको टिकटमा फोटो राखेको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा फोटोहरू राख्ने महत्वपुर्ण कार्य भएकाे छ । उत्तरबाहिनी कालीगण्डकीको धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । यहाँ बर्षातको समयमा बाहेक अन्य समयमा र्याफ्टिङ्गको व्यवस्था गरिएको छ । रानीमहलको भवन तानसेन वडा न  १२ र बगर बगनासकाली गाउँपालिकामा पर्ने भएकोले हाल नगरपालिका र गाउँपालिकाको सहकार्यमा एमओयु सहमति भई विकासमा लागिपरेको अवस्था छ ।

रानीमहल दरबारलाई नगरपालिकाले पुरात्विक हिसाबले अगाडि बढाउने तयारी गरेको छ । दरबारको मुख्य आम्दानीको स्रोत टिकट बिक्री भएकाेले यसबाट प्राप्त आम्दानी यसको रङ्गरोगन पुर्वाधार विकाससँगै नगरका अन्य कार्यमा समेत खर्च भएको छ । तानसेन नगरपालिकाले आगामी दिनमा रानीमहलको सौन्दर्यकरणलाई मध्ये नजरमा राखी रङ्गरोगन गर्ने र छिटो रानीमहलमा ‘क्विन अफ रानीमहल’ आयोजना गर्ने तयारी छ ।

रानीमहललाई तानसेन नगरपालिकाले प्रत्येक वर्ष बजेट छुट्याए पनि अपुग हुन्छ । रानीमहलको विकास गर्न स्थानीय सरकार एक्लैले गर्न सक्ने अवस्था छैन, सबै स्थानीय नागरिक तथा संघसंस्थाहरूको साथ र सहयोग आवश्यक देखिन्छ ।

छलफलमा नाटा पाल्पा च्याप्टरका अध्यक्ष राजिवकुमार शाहले पाल्पाको रानीमहल लगाएतका पर्यटकीय स्थलको संरक्षण एवम प्रबर्धन गर्न ट्याक्ट समिति र नाटा पाल्पाले सहकार्य गरि कार्य गरिरहेको बताए । पाल्पामा सर्वप्रथम ढाका कपडा सुरूवात गर्ने गणेशमान महर्जनलाई स्मरण गर्दै नाटा पाल्पा र ट्याक्टले ढाका र करूवालाई राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धन गर्न लागि परिरहेको बताए ।

नाटा पाल्पाले साइन्लिङ, प्यारागलाइडिङ, भ्यालेटयान्डेमा रानीमहलमा प्रेम जोडीलाई स्वागत र पर्यटकीय स्थलको पहिचान गर्न स्थानीय सरकारसँग सहकार्य गरेर साउन महिनाको ४ बार हरेक हप्ता एक पर्यटकीय स्थलको पहिचान कार्यक्रम गरिरहेको छ । आगामी दिनमा रानीमहललाई थप व्यवस्थित एवम पर्यटन मैत्री बनाउन हरेक हप्ता दिन लाइभ सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ । रानीमहलको व्यापकता लागि ड्याम बाँधेर दहको निर्माण गर्ने योजना छ र छिमेकी जिल्ला स्याङ्जामा पर्ने आलमदेबी मन्दिरदेखि रानीमहलसम्म केबलकार जोड्ने योजना रहेकाे शाहले जानकारी दिए ।













0 प्रतिकृया