विश्वासकाे मत लिँदै काेशीका मुख्यमन्त्री
विराटनगर, १ कार्तिक । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्कीले आज विश्वासकाे मत लिन लागेका हुन् ।
कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए । कार्कीलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई दबाबमा राख्नका लागि गठबन्धनका दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिन लागेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीलाई एमालेका ३९ जना, कांग्रेसका २९ जना, माओवादीका १३ जना र ४ जना सांसद भएको एकीकृत समाजवादीले विश्वासको मत दिनेछन् ।
विश्वासकाे मतसँगै मन्त्रिपरिषद् विस्तार
मुख्यमन्त्री कार्कीले आज विश्वासकाे मत हासिल गरेसँगै मन्त्रिपरिषद् विस्तारका लागि अगाडी बढ्ने छन् । पद तथा गाेपनियताकाे सपथ लिएका दिन कांग्रेसका १ जना र एमालेका १ जनालाई मन्त्री बनाएका कार्कीले अब गठबन्धनकाे साथ लिन्छन् कि एमालेकाे हेर्न बाँकी छ ।
0 प्रतिकृया