१८ वर्षपछि नेपालीका लागि हङकङले खुलायाे भिसा
काठमाडाैं, १३ कार्तिक । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले करिब १८ वर्षपछि नेपालीहरुका लागि भिसा खुलाएको छ । अक्टोबर २५ अर्थात् यसैहप्ताको बुधबार हङकङ सरकारले नेपालीसँगै भियतनाम र लाओसका लागि पनि भिसा खुलाएको हो ।
सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो । बुधबार हङकङका प्रमुख जोन लीले भिसा नीति खुकुलो बनाइएको घोषणा गरेको सिन्ह्वाले जनाएको छ ।
अब नेपाली प्रतिभाहरूका लागि हङकङमा रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बन्नेछ । लीका अनुसार भियतनाम, लाओस र नेपालका प्रतिभाहरूलाई आकर्षित गर्न भिसा नीति खुकुलो बनाइएको हो ।
जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ ।’
यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन् । साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि पनि अब हङकङको भिसा पाउने छन् ।
0 प्रतिकृया