किन विदेशिदै छन् हाम्रा युवाहरू ?
कुमार दाहाल
अहिले विश्वमा नै दक्षिणबाट उत्तरतर्फको आप्रवासन बढेको छ । अफ्रिकी देशहरुबाट आप्रवासन छेक्न युरोपलाई मुस्किल पर्दैछ । राजनीतिक हिंसा, अस्थिरता र जलवायु परिवर्तनको मार खेपेका अफ्रिकी राष्ट्रबाट युरोप, अमेरिका छिर्ने शरणार्थीहरूको संख्या चुनौतीपूर्ण बन्दैछ । युक्रेन र मध्यपूर्वको युद्ध भयावह छ । यस क्षेत्रमा लाखौंको संख्यामा मानिसहरु देश छोडदै छन् । जलवायु परिवर्तन आप्रवासनकाे सबैभन्दा चुनौतीपूर्ण चिन्ता हो । मानव सभ्यताको इतिहास आप्रवासन युद्ध र जलवायु परिवर्तनबाट प्रभावित देखिन्छ । अवसर र रोजगारीको आप्रवासन नयाँ होइन । श्रमिकको माग र आपूर्ति सन्तुलनमा १९९० काे विश्वव्यापीकरणले नै संकेत दिइसकेको थियो । यसको परीणाम अहिले देखिँदैछ ।
नेपालमा बि.स. २००८, २०१८, २०४६, २०६३, को राजनीति परिवर्तन र २०७२ को भूकम्प पछि व्यापक आन्तरिक बसाइँसराइ भयो । तर यो आन्तरिक थियो । यसले शहरीकरण बढायो । सहरको जग्गा र घरको भाउ आकासियो । गाउँघर रित्ताे हुँदै गए । औद्योगिक र कृषि उत्पादनमा रोजगारी बढेन ।आयात बढ्यो । रेमिटान्स विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुँदै गयाे । बैक व्यवसायी बनेनन् । साहु महाजन जस्ता भए । ब्याजदरले बैंक धनी हुँदै गए ।
सरकारी क्षेत्रमा भ्रष्टाचार बढेर गयो । युवाहरुलाइ राजनीतिले अपनत्व दिएन । विद्यालयमा राजनीति कम हुँदै गएपछि युवाहरु स्वतन्त्र भए । कसैको अधिनमा रहेनन् । उनीहरु विश्वको बारेमा जान्दछन् । तर नेपालको राजनीति अवस्था स्थिति, भ्रष्टाचारबाट वाक्क छन् । यहाँ आफ्नो मान्छे नभई काम हुँदैन । ऋण सहजै पाइदैन । नाममात्रका सरकारका नीतिहरु छन् । अहिलेको युवा यो झन्झटमा पर्न चाहँदैन । प्रणालीमा रमाउन चाहन्छ । एउटा जीवनस्तर माथि पुगिसकेको युवा प्रणालीमा अपनत्व चाहन्छ । सम्मान र स्थिरता चाहन्छ । जुन नेपालमा छैन । जहाँ युवाले यो अवसर पाउँछ । त्यतैतिर जान्छ । याे मानवशास्त्रीय नियम पनि हो ।
संसारमा दक्षिण एसिया श्रमको हब बन्दैछ । युराेप अमेरिका र औद्योगिक राष्ट्रहरुमा जनसंख्या तीव्र रूपले घट्दैछ । यसको आपुर्ति विशेषगरी दक्षिण एसियाका मुलुकहरुले भरथेग गर्दैछन् । याे सधै चलिरहने प्रक्रिया होइन । तर नेपालको आप्रवासन फरक खालको छ । नेपालमा द्वन्द्व, हिंसा, उत्पादनकाे कमी, जलवायु परिवर्तन र कुनै सामाजिक असुरक्षा छैन । तर यहाँका झण्डै ७० प्रतिशत युवाहरु देश छोड्न चाहन्छन् । यसको मनोविज्ञान अलि जटिल खालको छ ।
आर्थिक बर्ष २०८०/०८१ को बजेटमा युवाको लागि ठुलो पैसा बिनियोजन छ । तर यो छरिएको छ । सँघ, प्रदेश र स्थानीय तहमा विभिन्न निकायमा छरिएको पैसा एकमुष्ट खर्च गर्ने हो भने खर्ब भन्दा तल छैन । तर यसमा युवाहरूको सहभागिता न्यून छ । आफ्नै जमात र समूहलाई पैसा वितरण गर्ने, अनुत्पादक क्षेत्रमा खर्च गर्ने पद्धतिले उद्यमी युवा जन्माउन सकिएको छैन ।
नेपालीले आफ्नो भूमिको लागि कहिल्यै लड्नु परेन । भोकमरीको शिकार हुनु परेन । माटो र राष्ट्रियताकाे लागि यहूदीहरूले जस्तो जमिन खोज्दै हिड्नु परेन । भारतीयहरुले जस्तो अंग्रेजको गुलाम हुनु परेन । जसलाई माटोको गन्ध थाहा छ उसले माटोलाई चिन्छ । अहिले नेपालको राष्ट्रियता अमेरिका युरोप क्यानडा र अस्ट्रेलियामा छचल्किएको छ । जुन राष्ट्रियता नेपाली युवालाई प्यारो लाग्दैछ । नेपालभित्र भन्दा नेपाल बाहिरको राष्ट्रियताले नेपाली युवालाई लोभ्याउँदै छ । यस्का दोषी युवाहरु होइनन् । जसले उद्योगहरु निजीकरण गरे । कृषि अनुदानबाट आफ्नै घर बनाए । सरकारी जमिन ब्यक्तीलाई दर्ता गराए । बिक्री गरे । चिया बगानहरु प्लटिङ गर्दै गए । कृषि र उद्योगलाई दिने अनुदान व्यापारीको हातमा दिए । स्वार्थ भएका नेताहरूको हातमा शासन गयो । कर्मचारितन्त्र राजनीति नेताको भजनगानमा नै केन्द्रित हुँदै गयो ।
बैककाे ऋण, सुविधा नीतिहरुमा यस्ता युवालाई आकर्षित गर्न सकेमा कृषि, उद्यम व्यवसायमा साना व्यवसाय बढ्न सक्छन् । लगानी बढ्न सक्छ र सिमान्त युवाहरु गाउँमै रमाउँछन् । याे लागू गर्न कुनै सिद्धान्त वाद वा राजनीतिले केही फरक पार्दैन ।
भ्रष्टाचारलाई समाजले अस्वीकार गरेन । तब युवाले देशभित्र केही देखेनन् । अहिलेको युवा शासन, प्रशासन, व्यापार-व्यवसाय समाज सबैमा नेतृत्व चाहन्छ । अपनत्व चाहन्छ । तर त्यहाँ पुराना विचार सिद्धान्त र चिन्तन बोकेका मान्छे भरिभराउ छन् । यस्तो अवस्थामा युवा देश बस्तैन । युवालाई अवसर दिनुपर्छ ।
१७ देखि २२ वर्षकाे युवालाई अनिवार्य रोजगारी दिनु पर्छ । अहिलेको प्रहरी, सैनिक, सशस्त्र र नगर प्रहरीमा १७ वर्षदेखिको युवालाई जागिर दिनुपर्छ र २२ बर्षमा अवकाश दिनुपर्छ । यसले ती क्षेत्रमा नयाँपन आउनसक्छ । रोजगारीले युवालाई कूलतबाट बचाउँछ । युवाले रोजगारी पाउँछन् । त्यसैपनि प्रहरी सैनिक सशस्त्रमा लामाे समयसम्म काम गर्न रुचाउँदैनन् । तल्ला पदहरुमा यसरी नियुक्ति गर्दा खर्च बढ्दैन । युवाहरुकाे देशप्रति अपनत्व बढ्छ । यिनै क्षेत्रभित्रका युवालाई कृषि उद्योग, तकनिकी, व्यवसायको तालिम दिन सकिन्छ । ५ वर्षपछि उसले निश्चित पैसा हात पार्छ । नेपालभित्रै व्यवसाय गर्न सक्छ । विदेशनै गयो भने पनि दक्ष कामदारको रुपमा जान सक्छ ।
वर्षमा हजारौं युवालाई यस क्षेत्रमा अवसर दिन सकिन्छ । बैककाे ऋण, सुविधा नीतिहरुमा यस्ता युवालाई आकर्षित गर्न सकेमा कृषि, उद्यम व्यवसायमा साना व्यवसाय बढ्न सक्छन् । लगानी बढ्न सक्छ र सिमान्त युवाहरु गाउँमै रमाउँछन् । याे लागू गर्न कुनै सिद्धान्त वाद वा राजनीतिले केही फरक पार्दैन । इमान्दार निर्णयको खाँचो मात्र पर्छ ।
आप्रवासनले अनुहार परिवर्तन हुनसक्छ । देश परिवर्तन हुँदैन । दक्षिण अफ्रिकाको जस्तो आप्रवासन हामीले भोग्नु नपर्ला । किनकि हाम्रो भूगोल र मानिस असल छन् । आप्रवासनको याे अवस्थाले अब नेपालमा बङ्गलादेश भारत र अफ्रिकी देशहरु र अन्य देशहरुबाट कामको खोजीमा प्रवेश गर्ने निश्चित छ । किनकि जनसंख्या र भुगोलको अनुपात कहिल्यै घट्दैन । हामीलाई पनि व्यापार, व्यवसाय चलाउँन मानिस चाहिन्छ ।
हाम्रा युवाहरु विदेश गएपछि विदेशबाट नेपालमा कामदार रोक्न सकिँदैन । र यहाँ काम र अवसरको सम्भावना हामीले मात्र नदेखेका हौं । अरुले देखिसकेका छन् । त्यतिखेर हाम्रा युवाहरु पक्कै स्वदेश फर्केलान् । हामीले बेलैमा विचार पुर्याएनाै भने देशको उद्योगधन्दा व्यापार हाम्रो हातमा नरहन सक्छ । अहिले नै हाम्रोमा सम्भावना धेरै छ । विदेश बसिसकेका र केही गरिसकेका युवाहरुको लागि नेपाल अत्यन्तै उर्वरभूमि बन्दैछ । यसकाे पहिचान हुन ढिलो भइसकेको छ ।
0 प्रतिकृया