दोलखाका खेलाडीहरुका लागि पाख्रिनद्वारा अक्षय कोष
दोलखा । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छिन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् ।
अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन् । १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी थिइन् । उनले अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छटपटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।
‘म कुनै समय भलिबल खेलाडी थिए । यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो । खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ,’ नेकपा एस दोलखाको उप सचिव समेत रहेकी पाख्रिनले भनिन्,‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु ।’
अन्तराष्ट्रिय जगतमा कुटनीतिक सम्बन्ध नभएको अवस्थामा समेत खेल क्षेत्रले नेपाल चिनाउने भएकाले खेलाडीको सम्मानका लागि अक्षय कोष स्थापना गरिएको बताइन् । ०७९ को स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको उप मेयरको उम्मेदवार रहेकी पाख्रिनले भीमेश्वरको खेलाडी सदैब सक्षम र अब्बल हुनुपर्नेमा जोड दिइन् । यसका लागि आफुले सक्ने सहयोग गर्ने धारणा राखिन । पाचौं र छैटौंको छेत्रीय भलिबल खेलाडी रहेकी पाख्रिन दोलखामा सक्रिय राजनीति गर्छिन् ।
करिब ३५ सय मिटर उचाइमा भएका अध्यक्ष कप कार्तिक १९ गतेसम्म हुने छ । उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद भरत बहादुर केसी, एन्फाका उपाध्यक्ष दावा लामा, नेकपा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धर लगाएको सहभागीता रहेको थियो ।
0 प्रतिकृया