आइसीसी टी–२० विश्वकपः नेपाल समुह उपविजेता
काठमाडौं, १६ कार्तिक । आइसीसी टी–२० विश्वकप एसिया छनौटमा नेपाल ओमानसँग पराजित हुँदै समुहमा उपविजेता भएको छ । बिहीबार त्रिवि क्रिकेट खेल मैदानमा भएको समुह ‘ए’ को अन्तिम खेलमा घरेलु टोली ओमानसँग ५ रनले पराजित भएको हो ।
अब छनौट चरणको सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता र ओमानले समूह ‘बी’ को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछन् ।
निर्धारित २० ओभरको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ९ विकेट गुमाएर १४५ रन बनाएकोमा नेपालले सबै विकेट गुमाउँदै १४० रन मात्र बनाउन सक्यो । बलिङमा उत्कृष्ट गरेको नेपालको ब्याटिङ कमजोर बन्दा समूह विजेता बन्नबाट चुकेको हो । नेपाल समूह विजेता भएको भए समूह ‘बी’ को उपविजेतासँग त्रिवि क्रिकेट मैदानमा खेल्न पाउँथ्यो । अब नेपालले समूह ‘बी’ को विजेतासँग मुलपानी क्रिकेट मैदानमा खेल्नुपर्नेछ ।
खेलमा नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए । नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएकोमा विवेकले सुरुवाती दुई बलमा छक्का प्रहार गर्दा नेपाललाई जितका लागि मात्र १३ रन चाहिएको थियो । तेस्रो बल विवेकले पुनः छक्का हानेपछि जितको लागि तीन बलमा ७ रन चाहिँएकोमा उनी चौथो बलमा क्याच आउट भए ।
अभिनाश बोहराले पाँचौं बलमा एक रन लिँदा अन्तिम बलमा छक्का चाहिँएकोमा करण केसी लङअनमा क्याच आउट भएसँगै नेपालको समूह विजेता बन्ने लक्ष्य पुरा हुन सकेन ।
आजको खेलमा कुशल भुर्तेलले २६ र करण केसीले १५ रन बनाए । यसैगरी सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन बनाए । कुशल मल्लले १० रन बनाए । अन्य नेपाली ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । ओमानको जितमा जिशान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए । विकेटकिपर नसिम खुसी १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट हुँदा ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपाली बलर करण केसीको पाँचौं बलमा कश्याप प्रजापति ५ बलमा २ चौकासहित ८ रनमा आउट विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओमानका प्रमुख ब्याटर अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरे । उनले छैटौं ओभरको तेस्रो बलमा शोएब खानलाई बोल्ड गरे । गुलशन झाको पाँचौं ओभरको अन्तिम बलमा प्रतीक मिडअफमा रोहित पौडेलबाट क्याच आउट हुँदा १८ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए ।
आएन खान र जिशान मकसुदले ४९ रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काउँदा सन्दीप लामछिानेले आयन खानलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा मेहरान खान एलबीडब्लू आउट भएका थिए । ह्याट्रिक बलमा नसिम खुसीले चौका हानेका थिए ।
अभिनाश बोहराको १५ औं ओभरको चौथो बलमा जिशान आसिफ शेखबाट क्याच आउट भए । सकिल अहमद १७ बलमा २ चौका र १ छक्काहित २२ रनमा नट आउट रहे । नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २ विकेट लिए । गुलशन झाले १ विकेट लिए ।
0 प्रतिकृया