Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


किसुनजीकाे प्रस्तावमा खाेलिएकाे नेशनल मेडिकल कलेज

एक्सन खबर
मंसिर, १६, २०८०


किसुनजीकाे प्रस्तावमा खाेलिएकाे नेशनल मेडिकल कलेज

बसरुद्धिन अन्सारी

विरगञ्ज मुलुककै ठूलो औद्योगिक क्षेत्र भएतापनि गुणस्तरीय स्वास्थ्यका हिसाबले पछाडी नै थियो । सामान्य उपचार नारायणी अञ्चल अस्पतालमा भएपनि जटिल प्रकारका रोगको उपचारमा काठमाडौं र भारतीय सहर पुग्नु हाम्राे बाध्यता थियाे । विरगञ्जमा एउटा नर्सिङ होम वाहेक अन्य थिएन । त्यो नर्सिङ होम हामीले स्थापना गरेका थियौं ।

विरगञ्जको मात्र नभएर मुलुककै दोश्रो नर्सिङ होम हो नेशनल नर्सिङ हाेम । २०४४/०४५ सालदेखि नर्सिङ होम स्थापना गर्यौं । २०४६ सालको बहुदलीय ब्यवस्था आएपछि न हो नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भएको ।

बुबा ठेकेदार हुनुहुन्थ्यो । उहाँले धेरै पढ्न पाउनु भएन । आफु पढ्न नपाएपनि छोराहरुलाई भने पढाउन कुनै कसर छोड्नु भएन । बुबाले नपढेकाले ठेकेदारीमा ठूलै धाेकाहरू पाउनु भएकाले इखले पनि हाेला हामीलाई पढाउन कुनै कसर बाँकी राख्नुभएन ।

विरगञ्जमा नेशनल मेडिकल कलेज खोल्नमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको महत्वपूर्ण देन छ । हामीहरु नर्सिङ हाेम चलाईरहेका थियौं । २०५६ सालतिरकाे कुरा हो । आम निर्वाचनको कुरा चलिरहेको थियो । नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई पर्सा क्षेत्र नं. १ बाट निर्वाचनमा उठ्ने तरखर गर्दै हुनुहुँदो रहेछ । तर, यो क्षेत्रमा कांग्रेसले चुनाब जित्ने आधार थिएन । शेरबहादुर देउवाजीसँग उहाँ एकदिन विरगञ्ज आउनु भयो । विरगञ्जमा पनि हामीलाई खोज्दै नर्सिङ हाेम मै आइपुग्नु भाे ।

हामी कुनै पार्टीमा थिएनौं । एक्कासी कृष्णप्रसाद भट्टराईलाई चुनाबमा सघाउनु पर्ने प्रस्ताव आएपछि सुरुमा त अलमलमा पर्यौं । दाजूले त ‘राजनीतिमा लाग्नु हुँदैन, फाप्दैन’ भन्नुभयो ।


बिरामीहरुको चापले नर्सिङ हाेम अस्तब्यस्त थियाे । दाइ जैनद्धिन अन्सारी बिरामी हेर्न ब्यस्त हुनुहुन्थ्याे । प्रधानमन्त्री भइसकेको, कांग्रेस सभापति नै हामीलाई खोज्दै आएपछि स्वागत नगर्ने कुरा भएन । दाजुले बिरामी हेर्न छाडेर भेट गर्न तयार हुनुभयो । तर, किसुनजीले बिरामीको उपचारमा बाधा पुग्छ भनेर नर्सिङ होममा भेटघाट गर्न मान्नु भएन । बरु बेलुकी घरमै भेटघाट गर्ने भन्नु भयो । उहाँकै भनाई अनुसार बेलुकी घरमै भेटघाट गर्ने तयारी गरेर दाजूले दिनभर नर्सिङ होममा बिरामी हेर्नुभयाे ।

राजनीतिमा नलागेपनि विरगञ्जमा हाम्रो राम्रै थियो । मुस्लिम समुदायसँगै अन्य समुदायका मान्छेहरुसँग मित्रवत सम्बन्ध थियो । अस्पताल भएको त्यसमाथि दाजु नेपालकै राम्रो सर्जन भएकाले हामीले भनेको कुरा विरगञ्जमा कसैले काट्दैनथे । भेटमा कृष्णप्रसाद भट्टराईले पर्सा १ बाट चुनाब लड्न चाहेकोले सहयोग गर्नुपर्छ भन्नुभयाे ।  

त्यतिञ्जेलसम्म हामीलाई राजनीतिको ‘र’ पनि थाहा थिएन । हामी कुनै पार्टीमा थिएनौं । एक्कासी कृष्णप्रसाद भट्टराईलाई चुनाबमा सघाउनु पर्ने प्रस्ताव आएपछि सुरुमा त अलमलमा पर्यौं । दाजूले त ‘राजनीतिमा लाग्नु हुँदैन, फाप्दैन’ भन्नुभयो । तर, किसुनजी नै घरमा आएर सहयोग मागेपछि कसरी खाली हात फर्काउने ! अन्तिममा सहयोग गर्ने भइयो ।

हामीले अनुमान गरे जस्तै उहाँ ६० प्रतिशत मत ल्याएर विजयी हुनुभयो । उहाँले २४ हजार बढी मत पाउनु भयो । नेपाली कांग्रेसको सभापति, पूर्वप्रधानमन्त्री सन्त नेतालाई जिताउन पाएकोमा उहाँलाई भन्दा बढी हामीलाई सन्तोष भाे ।


चुनाबमा सहयोग त गर्ने तर, कसरी ? न बलियो संगठन थियो नत हामीसँग कुनै अनुभव नै । तैपनी हामी विरगञ्जमा सबैसँग घुलमिल भएको र बुबाको पालादेखि नै ब्यापार, ठेक्कापट्टा सँगै सामाजिक क्षेत्रमा पनि काम गर्न थालेकाले नचिन्ने थिएनन् । म काठमाडौंको क्षेत्रपाटीमा फर्मा ट्रेडर्स चलाएर बसेको मान्छे किसुनजीलाई जिताउनकै लागि विरगञ्ज गएँ । कांग्रेसको संगठन बनाउने, गाउँगाउँमा किसुनजीलाई लैजाने, स्थानीय अगुवाहरुलाई आफ्नो पक्षमा पार्ने काममा हाम्रो पुरै परिवार लाग्यो । हाम्राे पुरै परिवार किसुनजीकाे पक्षमा उत्रिएपछि माहाैल बन्न थाल्याे ।

त्यसबेला किसुनजीलाई हराउनु पर्छ भनेर ठूलै योजना बनाइएको थियो । किसुनजीको प्रत्यासीमा चिरञ्जिवी आचार्य उठ्नु भएको थियो । २०४८ सालमा आफैंले गराएको निर्वाचन र २०५१ सालको मध्यावधीमा पराजित किसुनजीलाई पर्सा १ बाट चुनाब जिताउन ठूलै चुनौति थियो ।

तर, उहाँको लागि हाम्रो सिंगो परिवार लागेकाले विस्तारै माहौल बन्दै गयो । निष्पक्ष निर्वाचन भए ६० प्रतिशत मत ल्याएर जितिन्छ भन्ने थियो । तर, निर्वाचनमा धाँधली हाेला भन्ने त्रास पनि थियाे । धाँधली र सड्यन्त्र नहोस् भनेर रातभर गस्ती गर्ने, युवाहरु परिचालन गर्ने, सड्यन्त्र गर्नेलाई गाउँगाउँबाट खेदाउन सक्रिय भयौं ।

नभन्दै हामीले अनुमान गरे जस्तै उहाँ ६० प्रतिशत मत ल्याएर विजयी हुनुभयो । उहाँले २४ हजार बढी मत पाउनु भयो । नेपाली कांग्रेसको सभापति, पूर्वप्रधानमन्त्री सन्त नेतालाई जिताउन पाएकोमा उहाँलाई भन्दा बढी हामीलाई सन्तोष भाे । किनभने, उहाँले हारेको भए विरगञ्जमा हाम्रो हार हुन्थ्यो । किसुनजी त चुनाब हारिन्छ भनेर काठमाडौंबाट आउनै मान्नु भएको थिएन । हामीले हेलिकप्टरमा आउनुस भन्यौं तर, डराउनु भयो । सामान्य कारमा आउनु भयो । हामीले किसुनजीलाई जसरी पनि जिताएरै पठाउँछौं भनेर बाचा गरेका थियौं । उहाँले राम्रो मत ल्याएर चुनाब जित्नुभयो । त्याे निर्वाचनमा मैले महशुष गरें राजनीति ।

चुनाब जितेर गएपछि उहाँ दोश्रो पटक प्रधानमन्त्री बन्नुभयो । सारै सालिन, भद्र नेता । चुनाबमा उहाँले पर्सा क्षेत्र नं. १ र विरगञ्जको लागि दुई चारवटा बाचा गर्नु भएको थियो । प्रधानमन्त्री बनेपछि त्यो पुरा गर्नुभयो । उहाँले नै हो हामीलाई मेडिकल कलेज खोल्न प्रस्ताव गर्नु भएको ।

त्यसबेला विरगञ्जमा मात्र हैन पुरै तराईमा ठूला अस्पताल थिएन । नारायणी अञ्चल अस्पतालको सेवा प्रभावकारी थिएन । कुनै गम्भिर दुर्घटना भइहाले, बिरामी भइहाले कि काठमाडौं पुर्याउनु पर्दथ्यो, कि भारत । किसुनजीले हाम्रो नर्सिङ होममा बिरामीको पिडा हेर्नु भएको थियो । उहाँले नै भन्नु भयो । ‘यहाँ मेडिकल कलेजको आवश्यक्ता छ । मेडिकल कलेज खोल्ने हो भने तयारी गर्नु म सहयोग गर्छु ।’ त्यसबेला भर्खर भर्खर मेडिकल कलेजहरु खोल्दै थिए । धरानमा वीपी कोइराला मेडिकल कलेज, भैरहवामा युनिभर्सल मेडिकल कलेज खुलेका थिए । हाम्रो त सपना नै थियो विरगञ्जमा एउटा सुविधा सम्पन्न अस्पताल सहितको मेडिकल कलेज खोल्ने । किसुनजीबाटै यस्तो प्रस्ताव आएपछि हामी के गर्ने दाेधारमा पर्यौं ।

मेडिकल कलेज खोल्ने त भन्यौं तर, हामीसँग पूर्वाधार केही थिएन । त्यही एउटा नर्सिङ होम थियो । आइडिया पनि केही थिएन । १९९८ मा भैरहवामा युनिभर्सल मेडिकल कलेज स्थापना भएको थियो । दाजुसहित युनिभर्सल मेडिकल कलेज हेर्न गयौं । त्यो त कृषि अध्ययन केन्द्रको स–साना टहरामा पो रहेछ, धरानको वीपी प्रतिष्ठान हेर्न गएको भए हामी कलेज खोल्ने आँट गर्न सक्दैनथ्यौं । .......
क्रमसः














0 प्रतिकृया