Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


जन विराेधी चरित्रले गणतन्त्र बलियो हुन सक्दैन

एक्सन खबर
मंसिर, १९, २०८०


जन विराेधी चरित्रले गणतन्त्र बलियो हुन सक्दैन

सुरेश कुमार पाण्डे

२०४६ को जनान्दोलन पछि कैयौं राजनीतिक दलहरूले अब राजतन्त्र कहिल्यै फर्किन सक्तैन भनेर जन्मजात क्रान्तिकारी ठानेकाहरू पनि बोलेका थिए । पछि राजाले आफ्नो गुमेको राजतन्त्र फर्काउन धेरै समय लगाएनन् । २०६३ को जनआन्दोलन र २०६५ को संविधानसभाले राजतन्त्रलाई पन्छाइदियो ।

त्यो छुट्टै कुरा हो बैधानिक थियो कि थिएन भन्ने ? त्यो तामझामको साथ राजतन्त्रलाई फालेर आएको गणतन्त्रलाई नेपाली जनताले अहिले फेरीपनि मुर्दावाद भन्न थालेका छन् । यद्यापी दलका नेताहरूले राजतन्त्र फर्किनै नसक्ने बताउँदै आएका छन् । मुखले नभनेपनि वास्तबमा प्रतिगमनको खतरा अहिलेपनि उनिहरूलाई स्याल हुँइया नै लागेको होला ।

नेतृत्व पंक्तिले बिर्सेका छन्–जनता अन्तिम निर्णायक हुन् । कतिपय नेताहरूले बेलाबेलामा आफ्नो स्वर बदल्दै राजतन्त्र देशमा ल्याउनुपर्छ पनि भन्दै आएको देखिन्छ । नेताहरूका जनविरोधी, देश विरोधी कृयाकलापबाट बाट दुःखी हुनपुगेका जनताहरू समेतले राजतन्त्र जिन्दावाद ! भन्दैछन् ।

नेपाली जनताले २०४७ को संविधान अनुसारको राजनीतिक व्यवस्था ल्याउँछौं भनेका छन् भने दलका शीर्ष नेताहरू राजतन्त्र कदापि नफर्किने दाबी गर्दैछन् । भ्रष्ट दलका नेताहरूको नेपाली जनताले निदहराम पारिसकेका छन् भन्ने कुरा नेताहरूको अत्तालिएको स्वभावले पनि पुष्टि गर्दै आएको छ ।

चुनावमा कुनै राजनीति दललाई सम्पष्ट बहुमत नमिल्नु र स्वतन्त्र उम्मेदवारहरूले राजनीतिक पार्टीका उम्मेदवारलाई धेरै मतान्तरले हराउनु र वर्तमान समयमा आमनागरिक सडकमा बिरोधमा उत्रनु यस्को एउटा उदाहरण हो ।

राजनीतिक पार्टीहरूबाट जनताको विश्वास उठिसकेको छ । यस्तो अवस्थामा देशभित्र अर्को परिवर्तनको वातावरण तयार हुँदै गएको पुष्टि हुन्छ । अहिले गिरिजाको शेरेमोनियल किङ वा बेवी किङको माग जस्तै वैधानिक राजतन्त्रको सडकमा वकालत हुँदै आएको देखिन्छ । त्यो मात्र होइन अहिले राजा आउ देश जोगाउ जस्ता नाराहरू राजधानीमा गुञ्जेको देखिन्छ । त्यो राजावादी आन्दोलन गाउँमा प्रवेश भयो भने संवैधानिक रूपबाट नै राजतन्त्रको पुनर्वहाली हुनसक्छ ।

अहिले राजनीतिक दलहरूलाई नीतिगत रूपमा मुल्याङ्कन गर्दा के हुन्छ ठ्याक्कै छुट्याउन गारो छ । सबैजसो दलहरू एउटै बारीका मुला बन्न पुगेका छन् । कस्ले के नाम राख्यो भन्नुभन्दा पनि कस्को व्यवहार देश र जनताप्रति उत्तरदायी छ भनेर जोख्दा केही साना दल बाहेक अरू सरोबरी देखिन्छन् ।

संघीयताको मामिलामा राजमोको र नेपाल कम्युनिष्ट प्रार्टी मसालको प्रष्ट नीति रहेको छ । त्यस्तो अरू कसैको नीति रहेको छैन भन्न सकिन्छ । कसैले संघीयता फालेर हिन्दु धर्मलाई पुनर्जिवित गर्ने भन्दैछन् । त्यो नारा राजावादी वा राप्रपाहरूले लगाउँदै आएका छन् । धर्म निरपक्षता र गणतन्त्रको जगेर्ना गर्दै संघीयतालाई खारेज गर्ने राजमो र नेकपा मसालको अडान हो । हिन्दुराष्ट्रको नारा पनि लाग्दैछ । बिस्तारै संघीयताको विरूद्धमा जनताको आन्दोलन चर्किने सम्भावना छ । दलहरूको पनि संघीयताको विरूद्धको आन्दोलन मिलन केन्द्र हुँने सम्भावना देखिन्छ ।

अहिले एमाओवादीका अध्यक्ष तथा देशका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मात्र संघीयतालाई जोगाउँने ठेक्का लिएको उनको ब्यवहारले बताएको छ । उनको यही हठले देशलाई कंङ्गाल बनाउँदै लगेको देखिन्छ । संघीयता देशले थेग्न नसकेको धेरै पहिले नै पुष्टि भैसकेको थियो । तर पनि सरकारको जवरजस्ति संघीयता जोगाउने ब्यवहारले देशको आर्थिक अवस्था डामाडोल हुँदैछ ।

कसैले भित्रभित्रै कसैले खुलेर संघीयताको विरोध गरेको बुझिन्छ तर उनिहरूको बिचमा एउटा समस्या के छ भने मन्त्री पद वा सभासद खुस्किने डरले भएपनि खुलेर संघीयताको बिरोध गर्न सकेका छैनन् । प्रदेश स्तरीय सभासद बन्न पाइन्छ कि भनेर पनि स्वार्थले संघीयता विरूद्धको आन्दोलनले सार्थकता पाउन सकेको छैन । देशको यही अवस्था रहिरहने हो भने राजतन्त्र फर्किन सक्छ । देशमा जनताले धेरै राजाहरू भन्दा बरू एउटै राजा भएको ठिक भन्न थालेका छन् ।

द्वन्द्व चर्किदै गयो भने विदेशीले देशको सार्वभौम सत्ता आफ्नो हातमा लिन नसक्ला भन्न गाह्रैछ । देशको राजनैतिक खिचलोबाट विदेशीले फाइदा लिँदै आएको सत्य हो । अहिले पनि लगाम विदेशी शक्तिकै हातमा केन्द्रित छ । पश्चिमा र छिमेकी देशहरू जस्ले उनीहरूको स्वार्थ पुरा गर्छ उसैलाई समर्थन गर्नेछन् । देश सधैभरी उनीहरूको मण्डि र जनतालाई गुलाम बनाई राख्ने उनिहरूको योजना नै हो । देशको अवस्था र राजनीतिक पार्टीहरूको ब्यवहारले राजतन्त्र फर्किन्छ कि फर्किदैन भन्ने मुद्दालाई उठाउँदै लगेको छ ।

विवाद चुलिँदैछ । तानातानमा देशभित्रका सन्तान लडेभने बाहिरका दुश्मन शक्तिहरूलाई नै फाइदा हुनेछ । कसरी अघि बढ्ने, विधिको शासन कसरी स्थापित गर्ने भन्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बहस हुन जरूरी देखिन्छ ।

दुर्गा प्रसाईं अथवा साना ठूला नयाँ पार्टी र नयाँ नेतालाई जन्माएको स्थापित नेतृत्व र नेताहरूको गलत कामकारवाहीले हो । सडक तातेको र जनताको समर्थन बढ्दै गएको पनि नेतृत्वको जनताप्रति गैह्रजिम्मेवारीले नै हो । यस्तो आन्दोलनकारीहरूमा जति रोक लगाए पनि उनीहरूलाई जन्माएको यही ब्यवस्थाले भएकाले ब्यवस्थाका सञ्चालकहरू सच्चिनुको बिकल्प छैन । राज्य दमन गरे ब्यवस्था विराेधि आन्दोलन झन झाँगिदै जाने सम्भावना देखिन्छ ।

सरकारले देशमा युवाहरूलाई रोजगारको ब्यवस्था गर्ने र जनउत्तरदायी सरकारमा जोडदिने प्रयत्न गर्नुपर्छ । भागबण्डे राजनीतिको अन्त्य र विधिको शासन स्थापित हुनैपर्छ । बुझ्नुपर्ने सत्य के हो भने गणतन्त्र कमजोर भयो भने राजतन्त्र फर्किन सक्छ । राजतन्त्र फर्काउने वा गणतन्त्र ब्यवस्थित गर्ने त्यसबारे राजनीतिक दलहरूको ब्यवहारमा निर्भर हुनेछ । अहिलेजस्तो व्यवहारले गणतन्त्र संस्थागत हुन सक्दैन । देश र जनविरोधी चरित्रको गणतन्त्र बलियो हुन सक्दैन ।

गणतन्त्र संस्थागत गर्ने भए संघीयताको खारेजी र सहमतिको राजनीति अनिवार्य छ । भ्रष्टाचार र नैतिकहीन नेतृत्वको चरित्रले लोकतन्त्र लूटतन्त्र मात्र हुनेछ ।













0 प्रतिकृया