Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


स्वास्थ्यकर्मीको टोली लिएर मोरङ–३ का संघीय सांसद सुनिल शर्मा प्यूठानमा

एक्सन खबर
पौष, ४, २०८०


स्वास्थ्यकर्मीको टोली लिएर मोरङ–३ का संघीय सांसद सुनिल शर्मा प्यूठानमा

विराटनगर । मोरङ क्षेत्र नं. ३ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मा स्वास्थ्यकर्मीहरुको टोलीसहित प्यूठान पुगेका छन् । गाउँगाउँमा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने अभियानमा सक्रिय नेपाली कांग्रेसका प्रभावशाली सांसद डा.शर्मा स्वास्थ्यकर्मी र उपकरण सहित प्यूठानको गौमुखी गाउँपालिका पुगेका हुन् ।

प्यूठानको गौमुखी गाउँपालिका वडा नं. ५ ठूलाबेसीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११२३ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा ४९ जनाको इसिजी, २०३ जनाको ल्याब परीक्षण, १५८ जनाको भिडियो एक्सरे र ७६ जनाको इको समेत गरिएको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ९२ जनाको दाँत खोलिएको थियो भने, ४० जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको थियो ।

शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा गरिब विपन्नले स्वास्थ्य जाँच गराएका थिए । गाउँमै राजधानीबाट विशेषज्ञ चिकित्सकहरुको टोली सहितको स्वास्थ्य शिविर आएपछि स्वास्थ्य जाँच गराउन बिरामीको घुईंचो नै लागेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी संघीय सांसदले स्वास्थ्य शिविरलाई संवोधन गर्दै दुरदराजमा रहेका जनतालाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न आफु प्रतिबद्ध रहेको बताए । राजनीतिक रुपमा मोरङ क्षेत्र नं. ३ बाट संघीय संसदमा प्रतिनिधित्व गरेतापनि जनताको सेवा गर्न आफुलाई भूगोलले नरोक्ने बताउँदै स्वास्थ्य शिविरबाट अपरेशन गर्न काठमाडौं मेडिकल कलेजमा आउने बिरामीलाई शतप्रतिशत छुट गरिने घोषणा गरे । ‘यहाँ स्वास्थ्य जाँच गराएर अपरेशन गर्नुपर्ने बिरामीहरु काठमाडौं मेडिकल कलेज, काठमाडौं आउँदा उहाँहरुलाई शतप्रतिशत छुटको व्यवस्था गर्नेछु ।’ सांसद शर्माले भने ।

कार्यक्रममा प्रदेश सांसद निमा गिरीले समेत संघीय सांसद डा. शर्माले गरेको समाजसेवा र स्वास्थ्य सेवालाई मुक्तकण्ठले प्रसंशा गरिन् । डा. शर्माले स्वास्थ्य क्षेत्रमार्फत समाजसेवा मात्र नगरी राज्यले गर्ने दायित्व समेत वहन गरिरहेको सांसद गिरीको भनाई छ ।

निःशुल्क स्वास्थ्य शिविरमा डा. शर्मासहित ५५ जनाको टोली रहेको छ । टोलीले अब पुस ५ गते दाङ्ग तथा ६ गते कपिलवस्तुमा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।  





















0 प्रतिकृया