सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर लुम्बिनीको कपिलवस्तुमा
एक्सन खबर
काठमाडौं । गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ख्याती कमाएका सांसद सुनिलकुमार शर्माले लुम्बिनी प्रदेशको कपिलवस्तुमा आयोजना गरेको शिविरमा बिरामीको भीड लागेको छ । शुक्रबार कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. २ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १५४७ जनाको स्वास्थ्य जाँच गरियो ।
मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. शर्मा आफैंले नेतृत्व गरेर लगेको स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरसहित २५ जनाको टोली रहेको थियो । टोलीमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टरहरुले सेवा दिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
शिविरमा १४४ जनाको इसिजी, २११ जनाको ल्याब परीक्षण, १५५ जनाको भिडियो एक्सरे तथा ६५ जनाको इको गरिएको थियो भने, ४७ जनाको दाँत खोलिएको छ । शिविरमा आएका मध्ये ५९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । सांसद डा. शर्माले अपरेशन रेफर भएकाहरुलाई काठमाडौं मेडिकल कलेजमा शतप्रतिशत निःशुल्क उपचारको ब्यवस्था गरिदिएका छन् ।
स्वास्थ्य शिविरमा बोल्दै संघीय सांसद डा. शर्माले स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यले बेवास्था गरिरहेको बताउँदै दुरदराजमा रहेका जनतालाई घरदैलोमै सेवा गर्न निःशुल्क स्वास्थ्य शिविर चलाईएको बताए । शिक्षा, स्वास्थ्य जस्ता विषयहरु संविधानका मौलिक अधिकार भएपनि कार्यान्वयनमा राज्यसत्तामा रहेकाहरु उदासिन बन्दा जनताले दुखः पाइरहेको उनको भनाई छ । आफु राजनीतिमा जनताको सेवा गर्नकै लागि आएको बताउँदै उनले इमान्दार भएर जनता र देशको पक्षमा सत्यको वकालत गरिरहने जिकीर गरे ।
बुद्धभूमी नगरपालिकाका मेयर केशब कुमार श्रेष्ठको सभापतित्वमा भएको निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा गरिब विपन्न नागरिकले स्वास्थ्य जाँच गराएका थिए ।
0 प्रतिकृया