आजदेखि इस्वी संवत् सुरू, पयर्टकीय क्षेत्र खचाखच
काठमाडौं । आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । विश्वका अधिकांश देशहरूमा प्रचलनमा रहेकाे इस्वी सम्वत् नेपालमा पनि शुभकामना साटासाट गरि मनाइँदैछ । इस्वी संवतकाे अवसरमा राजधानीसँगै देशका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटककाे राैनक छ ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ ।
इस्वी संवत् सर्वप्रथम प्रशान्त महासागरमा मनाइन्छ । सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइँदैछ ।
नयाँ वर्षको अवसरमा नेपालमा काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहा, इलामकाे कन्याम, धनकुटाकाे भेडेटार लगायत पर्यटकीय स्थलहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्षकाे पूर्व सन्ध्यामा न्यू इयर इभ मनाइएकाे छ ।
यस्तैगरी, आज जनवरी १ का दिन नेपाली राष्ट्रिय टाेपी दिवस समेत मनाइँदैछ । जनवरी १ मा नेपाली राष्ट्रिय टाेपी दिवस मनाउने प्रचलन श्रीश्री रविशंकरले सुरू गरेका हुन् । राष्ट्रिय पोशाक संरक्षण महा-अभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महा-अभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाउने गरेका छन् ।
अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्याउने उद्देश्यले टोपी दिवस मनाउन लागेको युवाहरुले बताएका छन् ।
0 प्रतिकृया