१९ औं एशियन गेम्सको खर्च सार्वजनिक गर्न खेलकुद महासंघकाे माग
काठमाडाैं । चीनमा भएको १९ औं एशियन गेम्सको खर्च सार्वजनिक गर्न नेकपा एमालेकाे नेपाल खेलकुद महासंघले माग गरेकाे छ । संघले एशियन गेम्समा नेपालकाे तर्फबाट सहभागिता हुँदा भएकाे खर्च सार्वजनिक गर्न माग गरेकाे हाे ।
महासंघकाे माघ ४ र ५ गते सम्पन्न केन्द्रीय कमिटीकाे बैठककाे निर्णय सार्वजनिक गर्दै अध्यक्ष पर्शुराम बस्नेतले १९ औं एशियन गेम्सको खर्च सार्वजनिक गर्न माग गरिएकाे जानकारी दिए । १९ औं एशियन गेम्समा सहभागी भएका अफिसियल, व्यवस्थापक तथा प्रतिनिधि पठाउने क्रममा अख्तियारको चरम दुरुपयोग भएको निष्कर्षसहित विधागत खेलाडीभन्दा बाह्य व्यक्तिहरु पठाइएको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य पत्ता लगाउन विष्णु पुन नेतृत्वको कार्यदललाई अधिकार प्रत्यायोजन गरेको छ ।
शनिबार आयाेजित पत्रकार सम्मेलनमा कर्मचारीसम्बन्धी संगठन संरचना तथा व्यवस्थापनका लागि यथाशीघ्र पहल गर्न, दर्ता भएका राष्ट्रिय खेल संघहरुलाई उपलब्ध गराइने अनुदानको आधार स्पष्ट पार्न र पक्षपाती नगर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्ने निर्णय गरिएकाे जनाइएकाे छ ।
राखेप कर्मचारी सेवासर्तसम्बन्धी नियमावली बन्नमा भएको ढिलासुस्तीप्रति जवाफदेही हुनुपर्ने माग पनि खेलकुद महासंघले राखेको छ । त्यस्तै, करारका कर्मचारीलाई रितपूर्वक स्थायी बनाउन नेपाल खेलकुद महासंघले माग गरेकाे छ ।
नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको आयोजनामा पोखरामा २०८० साल चैत ३ गतेदेखि ११ गतेसम्म ‘नेकोस सूर्यतारा खेलकुद महोत्सव’ आयोजना गर्ने निर्णय केन्द्रीय कमिटीले अनुमोदन गर्दै उपत्यका विशेषसहित आठै प्रदेशको यसमा सहभागिता जनाउन केन्द्रीय कमिटी बैठकले निर्देशनसमेत दिएको छ ।
बैठकले नेपाल खेलकुद महासंघको संगठनात्मक सुदृढिकरण तथा शुद्धिकरण गर्ने, महासंघको सदस्यता नवीकरण, वितरण र अभिलेखीकरण गर्ने कार्यलाई प्राथमिकता दिने निर्णय गरेको छ । पार्टीले यो वर्षलाई संगठन सुदृढिकरण र शुद्धिकरण वर्षका रुपमा अगाडि बढाउने गरेको निर्णयअनुसार महासंघले यो निर्णय गरेको हो ।
यस्तै, पार्टी, नेता तथा नेतृत्वमाथि भइरहेको आक्रमण, फैलाइएको भ्रम, लादिएको प्रायोजित झुटा आरोप र पार्टी तथा नेता नेतृत्वविरुद्ध सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न, खण्डन गर्न तथा सामाजिक सन्जालमासमेत यसको प्रतिरोध गर्न ७७ वटै जिल्लाका प्रतिनिधि रहनेगरि ५ हजार १ सदस्यीय विशेष कमिटी गठन गरेकाे छ । कमिटीको संयोजक स्थायी कमिटी सदस्य रिनन पोखरेललाई तोकिएको छ । कमिटीले विशेष अभियानका रुपमा तत्कालै काम सुरु गर्ने र एमालेको ‘प्रतिरोधी दस्ता’ हुने निर्णय गरिएकाे छ ।
मिसन २०८४ लाई सफल बनाउन महासंघले आफू मातहतका सबै कमिटी तथा सदस्यहरुलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ । भने, यसका लागि पार्टी अध्यक्ष ओलीलाई नै रोल मोडल मानेर अगाडि बढ्ने र सोहीअनुसार गतिविधि गर्नाले मिसन २०८४ सफल हुने निष्कर्ष महासंघले निकालेको छ । पार्टीका नेताहरुलाई नै रोल मोडल नबनाउँदा मिसन २०८४ सफल हुनेमा आशंका गर्नुपर्ने निष्कर्षसहित बैठकले सम्पूर्ण नेतृत्व पंक्तिलाई यसमा होमिन अनुरोध गरेको छ ।
नेपालका गाउँगाउँसम्म खेलकुदलाई व्यापक विस्तार गर्दै एक कमिटी, एक खेल गतिविधि गर्ने निर्णय गर्दै महासंघका केन्द्रीय, प्रदेश, जिल्ला, पालिका तथा वडा कमिटीले तत्तत् स्थानमा विद्यालयदेखि विश्वविद्यालयसम्म, क्लबदेखि कम्युनिटीसम्म वार्षिक क्यालेन्डर नै निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्ने निर्णय भएकाे छ ।
- नेपाल खेलकुद महासंघले खेल क्षेत्रमा देखिएका विकृति, विसंगती, अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा विशेष कार्यदल निर्माण गरेर सत्यतथ्य बुझेर आवश्यक निकायमा उजुरीसमेत दिने निर्णय गरेको छ । यसका लागि नेपाल खेलकुद महासंघका सचिव विष्णु पुनको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ र यो कार्यदलले काम सुरु गरिसकेको छ ।
0 प्रतिकृया