Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


आकाशकाे उत्कृष्ट बलिङमा नेपाल यू-१९ विश्वकप क्रिकेटको सुपर-६ मा

एक्सन खबर
माघ, १२, २०८०




आकाशकाे उत्कृष्ट बलिङमा नेपाल यू-१९ विश्वकप क्रिकेटको सुपर-६ मा

काठमाडाैं । अफगानिस्तानलाई पराजित गर्दै नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह 'डी' मा तेस्रो बन्दै सुपर-६ मा प्रवेश गरेकाे हाे ।

अफगानिस्तानलाई राेक्ने क्रममा आकाश चन्दकाे बलिङ उत्कृष्ट रह्याे । ८ ओभरमा ३४ रन खर्चिएर आकाशले ५ विकेट लिएपछि अफगानिस्तान सस्तैमा समेटिँदा नेपाल सुपर-६ मा पुग्न सफल भएकाे हाे ।

अफगानिस्तानकाे खेलमा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्दा कप्तान देव खनालले अर्धशतक प्रहार गरे । सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे ।

ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपाललाई अगाडी बढाउन कप्तान देव खनालकाे याेगदान रह्याे । आकाश त्रिपाठीले १६ रन बनाउँदा दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए । दीपक बोहरा २७ रन जोडेर आउट भए । सुवास भण्डारीले नटआउट ९ रन जोड्दै नेपालकाे जित सुनिश्चित गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट हुँदा आकाशले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । दोस्रो ओभरमा आकाशले खलिद तनिवाललाई शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए । त्यसअघि नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराएका थिए ।

आकाशले ओपनर जाम्शिद जार्द्रानलाई ३ रन बनाएर खेलिरहँदा ५.५ ‌ओभरमा बोल्ड गरे । दुई ओभरपछि आकाशले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिन आठौं ओभरको अन्तिम बलमा सोहिल खानलाई ४ रनमा कप्तान देव खनालबाट क्याच गराए ।

आकाशले दशौं ओभरको पहिलो बलमा नेपाललाई पाँचौ सफलता दिलाउँदा व्यक्तिगत चौथो विकेट लिए । उनले अलि अहमदलाई शून्यमा एलबिडब्लूको धरापमा पारे । भने, २० रन बनाएर खेलिरहेका हसन इशाखिललाई दिपेश कँडेलबाट क्याच गराएपछि उनले एकै खेलमा पाँच विकेट लिन सफल भए ।

नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गरेको थियो । तिलकराज भण्डारीले खेलकाे १८औं ओभरको तेस्रो बलमा एम घजानफरलाई ३७ रनमा आउट गरे । दिपेशले २ विकेट लिँदा सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाकाे नाममा १-१ विकेट रह्याे ।

अफगानिस्तानका नसीर शाखले ३१ रन जोड्दा नवौं विकेटका लागि फारुदुनसँग ५५ रनको साझेदारी गरे । उनले अन्तिम विकेटको रुपमा सुवास भण्डारीबाट आउट हुँदै गर्दा २९ रन जोडे ।

अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह 'डी' मा तेस्रो बन्दै सुपर-६ मा पुगेको छ । अब सुपर-६ मा नेपालले समूह 'ए' का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।













0 प्रतिकृया