Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नि:शुल्क स्वास्थ्य शिविर गर्न गिरी फाउन्डेसन र पारस हस्पिटलबीच सहकार्य

एक्सन खबर
माघ, १५, २०८०


नि:शुल्क स्वास्थ्य शिविर गर्न गिरी फाउन्डेसन र पारस हस्पिटलबीच सहकार्य

विराटनगर । समाजसेवी अभिषेक गिरीले स्थापना गरेको गिरी फाउन्डेसन र पारस मल्टिस्पेसियालिटी हस्पिटलबीच निःशुल्क स्वास्थ्य शिविर गर्नका लागि सहकार्य भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर विराटनगर महानगरपालिका-११ महेन्द्र चोकस्थित पारस मल्टिस्पेसियालिटी अस्पताल र गिरी फाउन्डेसनले संयुक्त रूपमा शिविरको आयोजना गर्नेगरी सम्झौता समेत भएकाे छ ।

पारस हस्पिटलसँग विभिन्न समयमा निःशुल्क रूपमा शिविरको आयोजना गर्नेगरी सम्झौता भएको फाउन्डेसनका अध्यक्ष गिरीले बताएका छन् । पछिल्लो समय समाजसेवामा सक्रिय रहेका गिरीले आफ्नो फाउन्डेसनमार्फत् नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरी गरिब, विपन्न तथा स्वास्थ्य सेवाकाे पहुँचमा पुग्न नसकेका बिरामीहरूलाई सुलभ र सहज उपचार सेवा उपलब्ध गराउनका लागि सम्झौता गरिएकाे बताए ।

विपन्न वर्गका बिरामीले स्वास्थ्योपचार नपाइरहेको परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएकाे हाे । ‘कतिपय अहिले पनि स्वास्थ्यको पहुँचमा हुनुहुन्न । विपन्न वर्गका सबैलाई अस्पताल ल्याएर उपचार गराइदिन सकिरहेका छैनौं । त्यो सम्भव पनि छैन । तर उनीहरू सबैलाई समेटेर सहुलियत उपचार दिलाउने प्रयासस्वरूप स्वास्थ्य शिविर आयोजना गर्न खोजेका हौं ।’ गिरीले भने ।

गिरिका अनुसार पहिलो चरणमा विराटनगर महानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य शिविरको आयोजना हुनेछ । स्थानदेखि स्वास्थ्य सामग्रीमा लाग्ने खर्च व्यवस्थापनसम्म फाउन्डेसनले गर्नेछ भने स्वास्थ्य चेकजाँच अस्पतालले गर्नेछ ।

अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले विशेषज्ञ चिकित्सकहरूबाट विभिन्न विभागको स्वास्थ्य शिविर सेवा सञ्चालन गर्नका लागि सम्झौता भएको जानकारी गराउँदै स्वास्थ्य शिविरबाट रेफर भएका बिरामीहरूकाे सम्पूर्ण उपचारमा २५ प्रतिशत छुट गर्ने, अपरेसनमा ५० प्रतिशत छुट गर्ने बताए ।

यस्तै, स्वास्थ्य शिविरबाट रेफर बिरामीहरूलाई भर्ना गरेर उपचार वा अपरेसन गर्नुपरेमा औषधिमा समेत १० प्रतिशत छुट गर्ने दुवै संस्थाको योजना छ ।

त्यसबाहेक अपरेसन शुल्क, बेड चार्ज, मेडिसिन, डाक्टर राउण्ड, भर्ना शुल्क, प्याथोलोजीमा (सिबिसी, बिएसआर र सेरोलोजी), छातीको एक्सरे, मुटुको इसिजीबाहेक अन्य चेक जाँच गर्नुपर्ने अवस्थामा ५० प्रतिशत छुट हुने अस्पतालका बालरोग विशेषज्ञ सफिउर रहमानले जानकारी दिए ।













0 प्रतिकृया