पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिवमा नियुक्त
एक्सन खबर
काठमाडाैं । प्रतिनिधि सभाकाे महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले लामाे समयदेखि उनकाे सिफारिस राेकेर राखेपनि मंगलबार भने पाण्डेयलाई नियुक्त गरेका हुन् ।
पाण्डेयलाई महासचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन् ।
महासचिव पदमा नियुक्त हुनुअघि मंगलबार नै उनले प्रतिनिधि सभाकाे सचिव पदबाट राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन् ।
तत्कालीन महासचिव भरतराज गौतमले मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि महासचिव पदमा पाण्डेयलाई नियुक्त गर्न सिफारिस गरिएको थियो । उनलाई मंसिर २७ गते कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको थियो ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
0 प्रतिकृया