Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


आजबाट चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन, प्रधानमन्त्रीले उद्घाटन गर्दै

एक्सन खबर
फागुन, ५, २०८०


आजबाट चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन, प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । आजबाट चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदैछ ।  लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै रणनीति बनाउन फागुन ५ र ६ गते काठमाडौंमा सम्मेलन स्वावलम्बन विकास केन्द्र र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयुक्त आयोजनामा हुन लागेको हो ।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । लघुवित्त क्षेत्रमा पछिल्लो समय देखिएका समस्यालाई पहिचान गर्दै निराकरण गर्ने उद्देश्य सहित सम्मेलन आयोजना गरिएको केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताएका छन् ।

सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधिहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी ७ सय जनाभन्दा बढीको सहभागिता रहनेछ ।

‘नेपालमा बिगत १०–१२ वर्षहरु लघुवित्त क्षेत्रका लागि सुनौला दिन रहेपनि लघुवित्त क्षेत्रको पुनर्संरचना र पुनर्जागरण गर्नुपर्ने आवश्यक्ता देखिएको छ, त्यसका लागि सम्मेलन प्रभावकारी बन्ने अपेक्षा गरेका छौं ।’ अध्यक्ष श्रेष्ठले भने ।

सम्मेलनको नारा नै स्वस्थ लघुवित्त, समृद्ध सदस्य राखिएको छ । विश्वका १७८ ओटा देशमा सञ्चालन भइरहेको लघुवित्त मोडल ग्रामीण अर्थतन्त्रको पुनर्संरचनाका लागि उपयुक्त रहेको श्रेष्ठको दावी छ । पछिल्लो समय देखिएका केही विकृतीले गर्दा नेपालमा लघुवित्त सेवा बदनाम हुन थालेको भन्दै यसलाई सुधार गर्न जरुरी देखिएको आयाेजककाे निष्कर्ष छ ।

लघुवित्त संस्थाहरुले वित्तीय सेवासँगै शिक्षा, तालिम, सामाजिक कामहरु गर्नुपर्नेमा आफ्नो भूमिका बिर्सिदै गएको श्रेष्ठले जिकीर गरे । लघुवित्तले बढी ब्याज लिएको गुनासो सुनिए पनि यो ब्याजदर दक्षिण एसियामै न्यून रहेको उनको तर्क छ ।

लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेका छन् । हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५ हजार ८२ शाखाहरूमार्फत् करिब ६० लाख जनतालाई लघुवित्तमा आवद्ध गरेका छन् ।

यसमध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४ खर्ब ३२ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त बाहेक ५० वटा जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरु पनि क्रियाशील रहेका छन् ।













0 प्रतिकृया