कर्मचारीतन्त्र माथिको सवार
एक्सन खबर
कुमार दाहाल
उद्योगपति विनोद चौधरीले एक ठाउँमा भनेका छन्, ‘कर्मचारीतन्त्र यस्तो सवारी हो जसले सवार तुरुन्तै चिन्छ । जसले चिन्छ उसलाई कर्मचारीतन्त्रले गन्तव्यमा पुर्याइदिन्छ । जसले चिन्दैन, कहाँ लगेर थन्क्याउँछ । टुङ्गो हुँदैन ।’
यो विषय बडा मार्मिक छ । उद्योगपति विनोद चौधरी आफ्नो पेशामा उच्च स्थानमा त्यसै पुगेका होइनन् । जसले देशको राजनीति, कर्मचारीतन्त्र र नीतिलाई गहिरो बुझ्छ । उसले मात्र यसको सही उपयोग र प्रयोग गर्न सक्छ । र सफल पनि हुन्छ । उनको भनाइमा सार्थकता छ । जुनसुकै देशका उच्च राजनीति कार्यकारीले स्पष्टताका साथ आफ्नो निर्णय दिन्छ भने उसले त्यो देशको कर्मचारी तन्त्रको मर्म र भावना बुझेको मानिन्छ ।
राजनीति नेता कार्यकारी तहमा पुगेपछि उसको अधिकांश स्वभाव कर्मचारी तन्त्रको जस्तै हुन्छ । किनकि उसले ऐन, कानुन, नीति, नियमको अधीनमा मात्र आफ्नो निर्णय दिन्छ । यदि दिँदैन भने त्यो कार्यकारी सफल हुँदैन । कर्मचारीतन्त्रको मुख्य विशेषता पनि यही हो । सवारीले सवार चिन्नु हार्दिकता हो । सवारले सवारीलाई कसरी उपयोग र प्रयोग गरेको छ दुवैले प्राप्त गर्ने नतिजा यसैमा छ । हाम्रो कर्मचारीतन्त्र र राजनीतिले सही दिशा लिन नसक्नुमा एउटा मनोवैज्ञानिक कारण यो पनि हो ।
कर्मचारीतन्त्रको भावना र मर्म नबुझ्ने सरकार लामो समयसँग टिक्दैन । यो कटु सत्य हो । राजनीति तहको निर्णय जब कर्मचारीतन्त्रमा पुग्छ त्यसपछि मात्र यो तथ्यपरक, वस्तुवादी र कानुनी बन्छ । त्यसैले कर्मचारी तन्त्रको मर्म र भावना बुझ्ने सरकार सफल हुन्छ । के कर्मचारीतन्त्रले राजनीतिको मर्म र भावना बुझ्नु पर्दैन त । यो अर्को तर्क हुन सक्छ । तर कर्मचारी तन्त्रको जन्म राजनीति इच्छाबाट नै हुन्छ । राजनीति इच्छा विपरीत कर्मचारी तन्त्र जन्मिदैन । सारा दोष कर्मचारीतन्त्रमा हुन सक्छ । यसको परिणाम अन्तत राजनीतिले खेप्नुपर्छ । कर्मचारीतन्त्र माथि कसरी सवार हुने भन्ने अहम प्रश्न राजनीतिको हो । तर अहिलेको हाम्रो कार्यशैली र पद्धति हेर्दा राजनीतिमाथि कतै कर्मचारीतन्त्र सवार त छैन भन्ने उल्टो प्रश्न दिमागमा घरिघरि आइरहन्छ ।
निजी क्षेत्रले कर्मचारीलाई सधैँ नजिक राख्ने र चिन्ने प्रयास गर्छ । व्यापार र निजी पेशामा नाफा र संस्थाको हित लक्ष्य हुने गर्छ । त्यसैले संस्थाप्रति मालिक सवार हुन्छ । र, मालिकले कर्मचारीको हित र भावना विपरीत काम र सम्झौता गर्दैन । तर नाफाका लागि सरकारी क्षेत्रको जुनसुकै आदेश मान्न निजी क्षेत्र तयार हुन्छ । यो तयारीलाई स्वीकार गर्नु नै कर्मचारीतन्त्रको ठूलो कमजोरी हो । यो कमजोरी नेपालका उच्च घराना र उद्योगीहरूले थाहा पाउँछन् नै ।
ठूलाठूला कर छुट, करछलीका विषयहरु, आयात निर्यातमा चोरी, सार्वजनिक र सरकारी जग्गामा निजी क्षेत्रको हस्तक्षेप त्यसै भएका होइनन् । कर्मचारीतन्त्रमाथि निजी क्षेत्र सवार भएकै हो । सवार र सवारीको हार्दिकता रहुन्जेल यी विषय बाहिर निस्किँदैनन् । कसलाई कहाँ कतिखेर प्रयोग गर्नुपर्ने हो त्यही अनुसार दुवै क्षेत्रले गोटी खेलिरहन्छन् । कहिलेकाहीँ कर्मचारीले गरेको काम कर्मचारीबाटै बाहिरिन्छ । हाम्रोमा मात्र होइन, विकसित र सभ्य मानिएका देशहरुमा पनि यो प्रचलन त्यत्तिकै छ ।
कर्मचारीतन्त्रसँग संस्थागत मेमोरी रहिरहन्छ । जुनसुकै बेला यो प्रयोग र उपयोग हुन सक्छ । तर राजनीतिको लागि आफूले गरिसकेको काम चासोको विषय हुँदैन । र राजनीति नेतृत्वहरू नजानिकन यसमा फस्दै जान्छन् । किनकि उनीहरूले आफ्नो समयमा सवारीलाई चिन्न सकेनन् वा सवारीबाट सवार भए । यो खतरा जुनसुकै शासन प्रणाली र पद्धतिमा रहिरहन्छ । हाम्रोमा त बदलाको भावना कहिलेकाहीँ हार्दिकतामा समेत देखिने गरेको छ ।
कर्मचारीतन्त्रमाथि कर्मचारी कहिल्यै सवार हुन सक्दैन । यो क्षणिक मात्र हुन्छ । हेनरी फेवेलले कर्मचारी तन्त्रमा नेतृत्व होइन । व्यवस्थापन महत्त्वपूर्ण हुन्छ भनेका छन् । उनी कर्मचारीतन्त्रलाई संगठनको सिद्धान्त परिचालनको संयन्त्र मात्र ठान्छन् । यसको अर्थ कर्मचारीतन्त्र एउटा संयन्त्र हो । यो आफैमा हावी वा सवार हुन सक्दैन । यसलाई कानुन नीति र नेतृत्वको सहारा चाहिन्छ । यसले आफै कानुन, नीति, नियम बनाएर आफै लागू गर्न सक्दैन । लागू गरियो भने त्यो राजनीतिक तन्त्र रहँदैन । निरंकुश तन्त्र बन्छ । त्यसैले १८ औँ शताब्दी पछि राजनीति र कर्मचारीतन्त्रको सम्बन्ध र हार्दिकताको विषय उठ्दै आएको हो ।
जसले यो हार्दिकतालाई बिना स्वार्थ बुझे । उनीहरु सफल भए । जसले बुझेनन् एक आपसमा आरोप प्रत्यारोप गर्दै गए । त्यस्ता ठाउँमा भ्रष्टाचार बढ्यो । सूचनाहरू कुनै गोप्य रहेनन् । अपारदर्शिता बढ्यो । विश्वासको संकट बढ्दै गयो । अहिले नेपालको कर्मचारीतन्त्र र राजनीतिको सम्बन्ध यस्तै छ । हार्दिकता देखिँदैन ।
कर्मचारीतन्त्रमा नेता र नीतिलाई सफल र असफल बनाउने दुवै गुण हुन्छ । यो गुण चिन्न सक्नु राजनीति नेतृत्वको कला हो । यो गुण चिन्न राजनीति नेतृत्व राजनीति सीमा भन्दा बाहिर उभिनुपर्छ । नेतृत्व कहिलेकाहीँ व्यवस्थापकको भूमिकामा आउनुपर्छ । बहुसंस्कृति, भाषा, समाज, भूगोल र भावनाबाट एकै ठाउँमा भेट भएको कर्मचारी लाई बुझ्न गाह्रो छ । तर कर्मचारीतन्त्र एउटै कुरामा डराउँछ । त्यो हो नेतृत्वको इमान्दारिता ।
इमान्दार राजनीतिक नेतृत्व र शासकलाई कर्मचारीतन्त्रले हरदम सहयोग गर्छ । उद्योगपति विनोद चौधरीको भनाइले यही सार्थकता खोज्छ जस्तो लाग्छ । राम्रो र खराब दुवै परिणाम ल्याउन पेसा, व्यवसाय र भूमिकाको इमान्दारिता अर्थपूर्ण हुन्छ । यही इमानदारिता र विश्वासले मात्र सवारीले सवारलाई गन्तव्यमा पुर्याउँछ ।
0 प्रतिकृया