Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश

एक्सन खबर
फागुन, २५, २०८०


नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको हो ।

स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै उनीहरुले अब विशिष्टीकृत सेवा सञ्चालन तर्फ जोड दिने बताए ।

बिहान कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा.भोला रिजाल, प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारी,  प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, डाइरेक्टर डा.साविहा यासमिन, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. माेदनाथ मरहट्ठा, बोर्ड अफ डाइरेक्टरहरु डा.आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारी लगायत झण्डोत्तोलन कार्यक्रममा सहभागी भए ।

झण्डोत्तलोन सँगै कलेजले सो अवसरमा भर्ना भएका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको छ । कलेज प्रशासनले बिरामी भएर अस्पतालको विभिन्न वार्डहरुमा उपचाररत करिब डेढ सय बिरामीलाई फलफुल वितरण गरेको हाे ।

२ वर्षअघि कलेजलाई नयाँ उचाईमा पुर्याउन बिरगञ्जका सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको टीमको प्रवेश भएको थियो । उनको टीमले कलेजको व्यवस्थापन सम्हालेसँगै स्वास्थ्य सेवालाई सुधार गरिएको छ । कलेजले चाँडै अंकोलोजी, कार्डियोलोजी सेवाहरु थप गर्ने, नयाँ एमआरआई भित्र्याउने तयारी गरेको कलेजकी डाइरेक्टर डा.साविहा यासमिनले बताइन् ।

२ वर्षको अवधिमा अस्पताल सेवा तर्फ इमरजेन्सी सेवा, ओपिडी सेवा, ल्याबको सेवाहरुलाई गुणस्तरीय बनाइएको डाइरेक्टर डा. यासमिनको भनाई छ । यससँगै कलेजमा ब्लड बैंक स्थापना समेत गरिएको छ । स्वास्थ्य सेवामा दक्ष जनशक्तिहरु थप गरिएको, नयाँ उपकरणहरु थप गरिएको, अत्याधुनिक डायलाइसिस सेवा सुरु गरिएको छ ।

कलेजमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरपालिकाका सेवाहरु समेत सञ्चालन गरिएकोले पछिल्लो समय सेवाग्राहीहरुको विस्वास बढ्दो रहेको प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीको भनाई छ । ‘हामी नेपाल मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्थाका रुपमा उभ्याउन सक्रिय छौं । स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरलाई एकसाथ सुधार्दै जनतालाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा दिनु हाम्रो लक्ष्य हो । यस कार्यमा कलेजमा कार्यरत शिक्षक, फ्याकल्टी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रति कृतज्ञता व्यक्त गर्दछौं ।’ प्रा.डा.अन्सारीले भने ।



















0 प्रतिकृया