पाँच वर्षदेखि फलामे साङला (सिक्री)मा बाँधिएका चौधरीको उद्धार
जनकपुर । मानव सेवा आश्रम जनकपुरधामले इन्सेक सप्तरी प्रतिनिधिको पहलमा सप्तरीबाट असार चार गते एक युवकको उद्धार गरेको छ । पाँच वर्षदेखि फलामे साङला (सिक्री)मा बाँधिएका मनोरोगी २५ वर्षीय प्रविनकुमार चौधरीलाई उपचार र स्याहारका लागि उद्धार गरी जनकपुरधामस्थित मानव सेवा आश्रम लगिएको हो ।
मानव सेवा आश्रमका सचिव सुमन बड्तौला, मधेस प्रदेश संयोजक विवेक महतो, सन्तोष थापा मगरको टोलीले चौधरीलाई उद्धार गरी लगेको इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले जानकारी दिनुभयो । वि.सं. २०६९ सालमा हेटौँडाबाट शुरु गरेको आश्रमले अहिले देशका १९ जिल्लामा २४ केन्द्र स्थापना गरी सेवा गर्दै आएको छ । जसमा हाल १ हजार ७ सय बढी सहयोगापेक्षी व्यक्ति रहनु भएको आश्रमका सचिव बड्तौलाले बताउनु भयो ।
शम्भुनाथ नगरपालिका–७, भगवतपुरका प्रविनलाई उपचार खर्चको अभावमा घरमा फलामे साङला (सिक्री)ले बाँधेर राखिएको थियो । मधेश प्रदेशका पूर्वमन्त्री महेश यादव र इन्सेक प्रतिनिधि पोखरेलले फलामे सिक्री खोल्दै चौधरीलाई मुक्त गर्नुभएको हो ।
मानसिक रोगका बिरामी चौधरीलाई उपचारको लागि अस्पताल लगिएको भएपनि मोटो रकमको जोहो गर्न नसक्दा पुनः अस्पताल लान नसकिएको प्रविनकी आमा इश्वरीदेबीले बताउनु भयो । इश्वरीले मनोरोगी छोरो गाउँ घरमा गइ उपद्रो मच्चाउने र छोरालाई समेत चोटपटक लाग्ने भएकोले बाध्य भएर ५ वर्षदेखि सिक्रीमा बाँधेर राख्नु परेको बताउनु भयो ।
प्रविन १७ वर्षको हुँदा मानसिक रोगले गाँजेको र जेठो छोरा रबिन पनि वेपत्ता भएको उहाँले बताउनु भयो । कान्छो छोरा सन्तोष भने बालकै उमेरदेखि काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । माहिलो छोरा मनोरोगी र जेठो छोरा वेपत्ता भएदेखि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि इश्वरीलाई आपतमाथि विपत आइलागेको सुनिल चौधरीले बताउनुभयो । छोराहरुको शोक मै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई घर व्यवहार चलाउन समस्या परेको थियो ।
बाँधेकै स्थानमा शौच गर्ने प्रविनलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्नुहुन्छ । छोराकै लागि बाँच्नु परेको बताउनु भएकी इश्वरी छोराकै स्याहार गर्नुपर्दा बनीबुतो गर्न सम्म मुश्किल परेको बताउनु हुन्छ । माया लागेर एक पटक प्रविनको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछी बाध्य भएर २४ सैं घण्टा बाँधेर राख्नु परेको उहाँले बताउनु भयो ।
स्वस्थ्य र फुर्तिलो छोराको उमेर १७ वर्ष लागेपछि अचानक मनोरोगको समस्या देखिन थालेको जानकारी दिनुहुँदै इश्वरीले उपचार गराउन असमर्थ भएपछि घरमै बाँधेर राख्नु परेको बताउनु भयो । आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्नुपरेकोमा दुखेसो पोख्दै इश्वरीले भन्नुभयो–“गरिब भएपछी जन्माएको छोरालाई बाँधेर राख्नु परेको छ, पशु बरु चर्नका लागि बेलाबेलामा खोलिन्छन तर, प्रविणलाई खोल्न सकिदैन ।”