Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


पाँच वर्षदेखि फलामे साङला (सिक्री)मा बाँधिएका चौधरीको उद्धार

एक्सन खबर
असार, ६, २०८१


पाँच वर्षदेखि फलामे साङला (सिक्री)मा बाँधिएका चौधरीको उद्धार

जनकपुर । मानव सेवा आश्रम जनकपुरधामले इन्सेक सप्तरी प्रतिनिधिको पहलमा सप्तरीबाट असार चार गते एक युवकको उद्धार गरेको छ । पाँच वर्षदेखि फलामे साङला (सिक्री)मा बाँधिएका मनोरोगी २५ वर्षीय प्रविनकुमार चौधरीलाई उपचार र स्याहारका लागि उद्धार गरी जनकपुरधामस्थित मानव सेवा आश्रम लगिएको हो । 

मानव सेवा आश्रमका सचिव सुमन बड्तौला, मधेस प्रदेश संयोजक विवेक महतो, सन्तोष थापा मगरको टोलीले चौधरीलाई उद्धार गरी लगेको इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले जानकारी दिनुभयो । वि.सं. २०६९ सालमा हेटौँडाबाट शुरु गरेको आश्रमले अहिले देशका १९ जिल्लामा २४ केन्द्र स्थापना गरी सेवा गर्दै आएको छ । जसमा हाल १ हजार ७ सय बढी सहयोगापेक्षी व्यक्ति रहनु भएको आश्रमका सचिव बड्तौलाले बताउनु भयो ।

शम्भुनाथ नगरपालिका–७, भगवतपुरका प्रविनलाई उपचार खर्चको अभावमा घरमा फलामे साङला (सिक्री)ले बाँधेर राखिएको थियो । मधेश प्रदेशका पूर्वमन्त्री महेश यादव र इन्सेक प्रतिनिधि पोखरेलले फलामे सिक्री खोल्दै चौधरीलाई मुक्त गर्नुभएको हो । 

मानसिक रोगका बिरामी चौधरीलाई उपचारको लागि अस्पताल लगिएको भएपनि मोटो रकमको जोहो गर्न नसक्दा पुनः अस्पताल लान नसकिएको प्रविनकी आमा इश्वरीदेबीले बताउनु भयो । इश्वरीले मनोरोगी छोरो गाउँ घरमा गइ उपद्रो मच्चाउने र छोरालाई समेत चोटपटक लाग्ने भएकोले बाध्य भएर ५ वर्षदेखि सिक्रीमा बाँधेर राख्नु परेको बताउनु भयो । 

प्रविन १७ वर्षको हुँदा मानसिक रोगले गाँजेको र जेठो छोरा रबिन पनि वेपत्ता भएको उहाँले बताउनु भयो । कान्छो छोरा सन्तोष भने बालकै उमेरदेखि काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । माहिलो छोरा मनोरोगी र जेठो छोरा वेपत्ता भएदेखि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि इश्वरीलाई आपतमाथि विपत आइलागेको सुनिल चौधरीले बताउनुभयो । छोराहरुको शोक मै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई घर व्यवहार चलाउन समस्या परेको थियो ।

बाँधेकै स्थानमा शौच गर्ने प्रविनलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्नुहुन्छ । छोराकै लागि बाँच्नु परेको बताउनु भएकी इश्वरी छोराकै स्याहार गर्नुपर्दा बनीबुतो गर्न सम्म मुश्किल परेको बताउनु हुन्छ । माया लागेर एक पटक प्रविनको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछी बाध्य भएर २४ सैं घण्टा बाँधेर राख्नु परेको उहाँले बताउनु भयो ।

स्वस्थ्य र फुर्तिलो छोराको उमेर १७ वर्ष लागेपछि अचानक मनोरोगको समस्या देखिन थालेको जानकारी दिनुहुँदै इश्वरीले उपचार गराउन असमर्थ भएपछि घरमै बाँधेर राख्नु परेको बताउनु भयो । आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्नुपरेकोमा दुखेसो पोख्दै इश्वरीले भन्नुभयो–“गरिब भएपछी जन्माएको छोरालाई बाँधेर राख्नु परेको छ, पशु बरु चर्नका लागि बेलाबेलामा खोलिन्छन तर, प्रविणलाई खोल्न सकिदैन ।”












0 प्रतिकृया








लोकप्रिय