निवर्तमान मन्त्री भगबती चाैधरीद्वारा झुम्का कारागारलाई सहयाेग
इटहरी । सुनसरीको झुम्कामा रहेको कोसी प्रदेशकै सबै भन्दा ठुलो कारागार झुम्का कारागारलाई निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको पहलमा जस्ता पाता प्रदान गरिएको छ । आज झुम्का कारागारमा आयोजित एक कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नं ३ कि सांसद् समेत रहेकी चौधरीले जस्तापाता प्रदान गर्नुभयाे ।
कारागार जीर्ण अवस्थामा रहेकाे र छाना समेत चुहिने अवस्थामा हुँदा कैदीबन्दीहरू मारमा थिए । निवर्तमान मन्त्री चाैधरीकाे पहलमा डेभलपमेन्ट सोसाइटीको सहयोग र दिनेश चौधरी स्मृति प्रतिष्ठानको सहकार्यमा १५ बन्डल जस्ता पाता दिइएकाे हाे ।
विगतमा कारागार निरीक्षणमा आउँदा कारागारमा कैदी बन्दी बस्ने ठाउँको छाना चुहिँदा रातभर आरा तथा बाल्टी थापेर रात कटाउनु परेको भन्दै कैदी बन्दी र कारागार प्रशासनले गुनासो गरेकोले संघ संस्था सँगको सहकार्यमा जस्तापाता उपलब्ध गराइएकाे निवर्तमान मन्त्री चाैधरीले बताउनु भयाे ।
चौधरीले आफुले २५-३० बन्डल सहयोग गर्न चाहेको तर अहिलेलाई १५ बन्डल मात्र भएको र सहयोगको क्रम निरन्तर रहने भन्दै आगामी दिनमा पुनः सहयोग गर्ने जानकारी पनि दिनुभयाे । निवर्तमान मन्त्री चौधरीले कारागार परिसर भित्रको भौतिक संरचना ज्यादै कमजोर अवस्थामा रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । ‘कारागारकाे भाैतिक संरचना अत्यन्त कमजाेर छ । सरकारि निकायले यसकाे मर्मत र पुनर्निर्माण गर्नुपर्छ । म सम्बन्धीत निकायकाे ध्यानाकर्षण गराउन चाहन्छु ।’ कारागार भित्रको बाटो, खानेपानी, खेलकुदका क्षेत्रमा राज्यले लगानी गर्नु पर्ने उहाँकाे भनाइ छ ।
साे क्रममा निवर्तमान मन्त्री चौधरीले कारागारमा कैदी जीवन बिताइरहेकाहरूसँग कुराकानी गर्दै समस्या, गुनासो सुन्दै काे कसरी के कारण कारागारसम्म आइपुगे भनेर जानकारी समेत लिनु भएको थियो । साे क्रममा उहाँले कैदी बन्दीहरूलाई फलफूल समेत वितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै रामधुनी नगरपालिका उप-मेयर तारा थापाले कारागारको छानो फेर्ने कार्य ठुलो पुण्यको काम भएको भन्दै कारागारमा कैदी जीवन बिताइरहेका हरुले मात्र हैन तिनका आफन्तले पनि जीवनभर यो पुण्य कार्य सम्झी रहने भन्दै प्रशंसा गर्नुभयाे । कार्यक्रममा कारागार प्रमुख जेलर, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
0 प्रतिकृया