Follow us:


Follow us

२१ फागुन २०८२, बिहिवार
२१ फागुन २०८२, बिहिवार


सनातन धर्ममा पारपाचुके र स्त्री स्वतन्त्रता

एक्सन खबर
भदौ, ५, २०८१


सनातन धर्ममा पारपाचुके र स्त्री स्वतन्त्रता

-कुसुम शाही 

हाम्रा पौराणिक धर्मशास्त्रमा पनि देव-देवीहरु सँगै बस्ने बालबच्चा जन्मेपछि अर्कैसँग बिहे गरेका यथेष्ट उदाहरण र सन्दर्भ पाइन्छन् । पौराणिक कालदेखि हेर्दा देवगुरु बृहस्पति पत्नी तारा र चन्द्रमाको सम्बन्ध र त्यसपछि महाभारत कालमा नारी स्वतन्त्रताको दृष्टान्त हेरौं ।

महाभारतमा उर्वशीले अर्जुनसँग प्रणय निवेदन गर्छिन् र अर्जुनले स्वीकार नगर्दा श्राप दिन्छिन् । कथाअनुसार ती अद्भुत कालखण्डमा कुनैपनि पुरुषसँग प्रणय निवेदन गर्न स्त्रीहरु स्वतन्त्र थिए भन्ने स्पष्ट हुन्छ । स्वयंवर प्रथा त्यही युगबाट चल्दै आएर हामीले उत्तरदानको रुपमा पाएको हो । महाभारतकालमा भीम र हिडीम्बाका पुत्र थिए घटोत्कच । यो जोडी छुट्टाभिन्न भएर बसेको कथा छ । यो कथा अहिलेको समयमा लिभिङ टुगेदर को हुन्थ्यो कि पारपचुकेको ?

क्रमशः अरुपनि धेरै उदाहरणहरु धर्मशास्त्रमा जिवितै छन् । पछिल्ला युगमा बल, प्रभुत्व र सामाजिक पद्धतिको विकास  हुने क्रममा धेरै सत्यहरूलाई लुकाइयो भने कतिपय सत्यहरुलाई बङ्गाई टीङ्गाई प्रस्तुत गरियो ।

सम्पूर्ण कालखण्डका प्रतिनिधि पात्र हामीले पुज्ने सवै आदर्श नारी पञ्चकन्याहरुका बहुपति थिए । हाम्रो सनातनी धर्मले युग वा कालखण्ड अनुसार परिवर्तनशील सामाजिक संरचना र परिवेशको बारेमा उच्च सचेतना साथ सम्मान गरेको पाइन्छ । अर्थात् अहिलेको लिभ इन रिलेशन र डिभाेर्स पहिलेको समाजमा राम्ररी ब्याप्त थियो भने त्यति बेलाको समाज आजभन्दा पनि धेरै नै उदारवादी थियो ।

पछिल्लो खण्डमा हामीले आफ्नो संस्कारलाई भुल्दै गयौं र एउटा धूर्त संरचना बनायौ । पछिल्लो सामाजिक संरचना विवेक र प्राकृतिक समानताको सिद्धान्तलाई मिचेर शारीरिक बलमिच्याईद्वारा निर्माण हुन पुग्यो । समाज बिभिन्न कालखण्डमा आवश्यकता र परिस्थितिले  स्थापित सोचअनुसार परिवर्तित हुने गर्दछ । स्त्री र पुरुष समसंख्या भएमा एक पुरुष एक स्त्री र पुरुषको संख्या कम र स्त्रीको धेरै हुँदा बहुपत्नी प्रणाली र स्त्रीको संख्या कम र पुरुष संख्या धेरै हुँदा दौपदी समाज निर्माण हुनु स्वभाविक हो ।

देवी प्रतिभाले भन्नु भएछ ‘पारपाचुके (डिभाेर्स) को संस्कृतमा शब्द छैन ।’ भगवान रामले सीतालाई त्यागेका हुन कि पारपाचुके गरिएको हो ?  पारपाचुके भइसकेको पतिसँग फेरि सम्बन्ध जोड्न नचाहेर माता सीता धर्तीमा ब्रम्हलिन भएकी हुन् कि जन्मेदेखिको निरन्तर अत्याचार सहन नसकेर आत्महत्या गरेकी हुन् ? छोरी जन्म भएकोले नै सीताजीलाई बावुआमाले त्यागेका हुन् वा आफ्नै सहोदर आफन्तको कुदृष्टिबाट जोगाउन आमाले नै छोरीलाई बक्सामा हालेर मिथिला राज्यमा आदर्शवादी राजा जनकको शरणमा छोडिन् ?

कताकता लाग्छ ऋषिवर वाल्मीकिले लेख्नै नसकेर सीताको उत्पति र अन्त अलि मिलाएर लेखे कि कालान्तरमा यो कथालाई बङ्ग्याएर प्रस्तुत गरियो ?

भारतवर्ष धेरै समय अचेत रह्यो भने तत्पश्चात मुसलमान र इसाईहरुको प्रभुत्वमा यति नराम्ररी जकडियो कि हाम्रा लिपि, पाण्डुलिपिहरु सवै खोसियो या नाश भए । आज, हामी पूस्ता दरपुस्ता सुनेका कथाहरु टुक्रा टुक्रा जोडेर लिपिबद्ध गर्ने प्रयासमा छौ ।यद्यपि, धेरै मुण्ड मुण्डमा शेष बचेका सुने-सुनाइएका स्मृतिमा रहेका अलिअलि सत्यहरु जोड्दा सम्पूर्णता हासिल गर्न सकिँदैन ।

त्यसकारण, पुराण, महाभारत, रामायण लगायत सम्पूर्ण विधिशास्त्र, खगोलशास्त्र, जैविक विज्ञान, समाजशास्त्र, अर्थशास्त्रलाई हामी सम्पूर्ण बिज्ञानको रुपमा हाम्रा पाठशालामा अध्यापन अनुसन्धान गराउन सक्दैनौं । त्यसमा दुईचार पण्डितहरुले सोझा साझा जनता झुक्याउँदा सम्पूर्ण गौरवशाली सनातन धर्मलाई खल्बलाइ दिन्छन् ।  मुसलमान र इसाईहरुले थिचिएको भारतवर्षमा आज हामीले बोल्ने पचास प्रतिशत भन्दा धेरै शब्दहरु फारसी या अरबीबाट आयातित छन् ।

देवी प्रतिभाले भन्नुभए जस्तो हाम्रो यत्रो परिष्कृत समाजमा श्रीमान् श्रीमतीबीच सम्वन्ध सौहार्दपूर्ण रह्यो र कहिल्यै सम्बन्ध बिच्छेदको अवस्था आएन भन्न कदापि मिल्दैन ! हाम्रो सनातनी संस्कारले मानव जीवनको यति ठूलो आयामलाई वेवास्ता गरेजस्तो मलाई लाग्दैन । श्रीमान श्रीमतीबीच बेमेलको अन्त्य हत्या र आत्महत्या मात्र त पक्कै नहुन सक्छ । संस्कृतमा पारपाचुके भन्ने शब्द पक्कै छ । मिथ्या र भ्रमबाट माथि उठन जरुरी छ । 

भगवान बिष्णुले मानव सभ्यता र समाज निर्माणको लागि मानव रुपमा गर्नुभएको संघर्ष  र कष्टहरुलाई दैवत्यकरण किन गर्ने ? किन मानव दृष्टिले नहेर्नै ?













0 प्रतिकृया