केएमसीमा निःशुल्क शल्यक्रियाका लागि सर्लाहीबाट आइपुगे बिरामीहरु
एक्सन खबर
काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट शल्यक्रियाका लागि रेफर गरिएका बिरामीहरु काठमाडौं मेडिकल कलेज आइपुगेका छन् । सर्लाहीका तीन स्थानका निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउँदा थप उपचार र शल्यक्रियाका लागि रेफर भएका बिरामीहरु उपचारार्थ केएमसी आइपुगेका हुन् ।
बरहथवा, बलरा नगरपालिका, कौडेना गाउँपालिका लगायतबाट ३० जना बिरामीलाई उपचारार्थ केएमसी ल्याइएको सर्लाहीका ज्ञानेन्द्र झाले जानकारी दिँदै सांसद शर्माले सर्लाहीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर गरिब, विपन्न नागरिकलाई बचाउने काम गरेकोमा धन्यवाद दिनुभयाे ।
शल्यक्रियाका लागि आएका बिरामीहरुमा नाक कान घाँटी, स्त्री रोग, आँखा रोग तथा जनरल सर्जरीका रहेको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरबाट आएका बिरामीहरुका लागि केएमसीले अस्पतालमा उपचारका लागि आएदेखि डिस्चार्ज नभएसम्म निःशुल्क शल्यक्रिया गरेर पठाइनेछ । प्रबन्धक दाहालले सर्लाही तथा सप्तरीमा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविरबाट रेफर भएका बिरामीहरु उपचारका लागि सेड्युल बनाइएको बताउनु भयो ।
स्वास्थ्य सेवामा केएमसीले एड्भान्स प्रविधिहरु भित्र्याउँदै दक्ष तथा विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्दै आइरहेकोले सुदुरपञ्चिमदेखि कर्णाली प्रदेश, लुम्बिनी प्रदेश हुँदै बागमती र मधेश प्रदेशका बिरामीहरुको आकर्षणको केन्द्रविन्दु भएको जिकीर गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउँन गाउँगाउँमा निःशल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आईरहनु भएको छ । उहाँको स्वास्थ्य शिविरबाट देशका कुना कन्दरामा उपचारबाट बञ्चित गरिब, विपन्न नागरिकले ठूलो राहत पाइरहेका छन् ।
0 प्रतिकृया