नेकमा नवआगन्तुक विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
एक्सन खबर
काठमाडौं । इन्जिनियरिङ अध्ययनार्थ चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण दिइएको छ । कलेजमा बिहीबार आयोजित शैक्षिक अभिमुखीकरण कार्यक्रममा प्रिन्सिपल, नवनियुक्त भाइस–प्रिन्सिपल तथा विभागीय प्रमुखहरुले विद्यार्थीहरुलाई कलेजको विगत, बर्तमान अवस्था, शैक्षिक, भौतिक, प्रशासनिक र विश्वविद्यालयका बारेमा जानकारी दिए ।
अभिमुखीकरणमा बोल्दै कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले इन्जिनियरिङ शिक्षा हासिल गर्न नेपाल इन्जिनियरिङ कलेज उपयुक्त गन्तव्य भएको बताउँदै विद्यार्थीलाई दक्ष जनशक्ति बनाउन कलेजले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । विद्यार्थीको सिकाईका लागि कलेजले पूर्णकालिन प्राध्यापकहरुको व्यवस्थापन गर्नुको साथै प्रयोगात्मक शिक्षण विधिमा बढी प्राथमिकता दिएको प्रिन्सिपल भण्डारीले बताउनु भयो ।
प्रिन्सिपल भण्डारीले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र मात्रै नदिई सीप र ज्ञान पनि दिएर पठाउने जिकीर गर्नुभयो । ‘यहाँहरुलाई सैद्धान्तिक व्यवहारिक ज्ञान र सीप दिएर पढाउँछौं । र तपाईहरुले पनि लगनशील र मेहनतका साथ अध्ययन पुरा गर्नुहुन्छ भन्नेमा हामी विस्वस्त छौं ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नवनियुक्त भाइस–प्रिन्सिपल मोहनध्वज केसीले इन्जिनियरहरुले दिगो भौतिक निर्माणमा ध्यान दिनुपर्ने भन्दै दक्ष जनशक्ति भएर देश विकासमा योगदान गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्राध्यापक दीपक पन्त, कलेज प्रशासन प्रमुख श्रीमा शर्मा, मिडिया रिलेसन अफिसर आशिष कुमार झा, परीक्षा प्रमुख सम्झना श्रेष्ठ, प्रवेश परीक्षा संयोजक रुपेश दही श्रेष्ठ, आर्किटेक्ट विभागका प्रमुख अनिल कुमार रेग्मीलगायतले पाठ्यक्रम, कलेजको भौतिक र प्रशासनिक अवस्थाको जानकारी गराउँदै नवआगन्तुक विद्यार्थीहरुलाई नैतिकवान र मेहनती भएर अध्ययन गर्न सुझाब दिनुभयो ।
0 प्रतिकृया