पूर्वको नासाे फर्काउन डा.सुनिल शर्माको अपील
धनगढी । मुलुकको आमुल परिवर्तनमा डा.शेखर कोइरालाको लगानी रहेको नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले बताएका छन् । प्रतिनिधि सभा सदस्य डा. शर्माले पूर्वको कोइराला परिवारबाट ल्याएको नासाे सुदूरपश्चिमबाट फेरी पूर्व फर्काउँदै पन्ध्रौ महाधिवेशनबाट डा.कोइरालालाई सभापतिमा जिताउन आग्रह गरे ।
नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बाेल्दै डा. शर्माले प्रजातन्त्रका लागि लडेको कोइराला परिवारका महत्वपुर्ण सदस्य डा. शेखर कोइरालालाई पन्ध्रौं महाधिवेशनबाट सभापति निर्वाचित गराउनुपर्ने अवस्था आएको बताए । कृष्णप्रसाद कोइरालाको हजारौं हजार विघा जमिन राणाले खोस्दा पनि उनी प्रजातन्त्रका लागि लडेकाे स्मरण गर्दै डा. शेखरले पनि मुलुककाे परिवर्तनमा याेगदान पुर्याएकाे जिकीर गरे ।
धनगढी विमानस्थलमा सूदुरपश्चिमका नेता तथा कार्यकर्ताहरुले गरेको स्वागतले उत्साहित बनाएको भन्दै डा.शर्माले यो जनलहर डा.कोइरालाको पक्षमा बढ्दै जाने बताए । साथै, याे जनलहरले संस्थापन पक्षमा तरङ्ग थप्ने पनि उनकाे दावी छ । साथै उनले अब अरु ५ प्रदेशहरुमा पनि यस्तै कार्यक्रम लिएर अघि बढ्ने बताए ।
विराटनगरको चारैतीर विघौं विघाहा जमिनका मालिक भएपनि सबै गुमाएका स्व.कृष्णप्रसाद कोइरालाका सन्तति डा.शेखर कोइराला अबको निर्विकल्प काँग्रेसको सभापति हुनुपर्ने डा.शर्माकाे ठहर छ । प्रजातन्त्रको स्थापनाका लागि लडेको कोइराला परिवार र त्यही परिवारका सदस्य रहेका डा.कोइरालाले काँग्रेसको अबको नेतृत्व सम्हाल्नु पर्ने आवश्यकता आइपरेकोले सुदूरपश्चिमका नेता तथा कार्यकर्ताले डा.कोइरालालाई सभापति बनाउन साथ दिनुपर्ने डा.शर्माले बताए ।
0 प्रतिकृया