नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा सम्मेलन हुँदै
एक्सन खबर
काठमाडाैं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा सम्मेलन २०२५ हुने भएकाे छ । पुष २३ गतेबाट कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजको सहकार्यमा 'साइबर सुरक्षा सम्मेलन २०२५' आयोजना हुने भएकाे हाे ।
यस कार्यक्रमले केन्द्रिय सरकार देखि स्थानीय सरकारसम्म एकै ठाउँमा ल्याउने, साइबर सुरक्षाका क्षेत्रहरूबारे ज्ञान आदानप्रदान गर्ने, नवीनतम प्रविधि र चुनौतीहरूबारे छलफल गर्ने र विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूसँग संवाद गरी गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने उदेश समाजका अध्यक्ष कोमल अधिकारीले जानकारी दिए ।
कार्यक्रमलाई सफल बनाउन, डिजाइन/सम्पादन टोली, सामाजिक सञ्जाल व्यवस्थापक, कार्यक्रम स्वयंसेवक/सञ्चालक, प्यानल छलफलको संयोजक जस्ता विभिन्न भूमिकाका लागि विद्यार्थीहरू सक्रिय रूपमा संलग्न हुने छन् । ‘कार्यक्रमले साइबर सुरक्षाको महत्त्वमाथि प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित इन्टरनेट अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यसले विद्यार्थीहरूलाई व्यावसायिक व्यक्तिहरूसँग नेटवर्क बनाउन, नयाँ ज्ञान हासिल गर्न, र व्यावहारिक अनुभव जुटाउन सहयोग पुर्याउनेछ।’अधिकारीले भने ।
कार्यक्रममा विद्यार्थीहरुले प्रख्यात साइबर सुरक्षा विशेषज्ञहरूद्वारा प्यानल छलफल (साइबर अपराध, डाटा संरक्षण, र डिजिटल सुरक्षामा नयाँ समाधानहरू) र डिजिटल सुरक्षामा उपाय, ह्याकिङको रोकथामका उपायहरु बारे जानकारी प्राप्त गर्ने छन् ।
कार्यक्रममा विद्यार्थी, प्राध्यापक, आईटी व्यवसायिकहरू, साइबर ब्युरोका प्रतिनिधिहरू, तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसहित साइबर सुरक्षामा चासो राख्नेलाई सहभागीताका लागि आव्हान गरिएको छ ।
0 प्रतिकृया