Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


सामाजिक सुरक्षा कोष अन्तर्गतका बिरामीलाई नोवेलमा उपचार गर्दा थप सुविधा

एक्सन खबर
फागुन, १२, २०८१


सामाजिक सुरक्षा कोष अन्तर्गतका बिरामीलाई नोवेलमा उपचार गर्दा थप सुविधा

विराटनगर । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ता श्रमिक तथा उनको श्रीमान वा श्रीमती बिरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ । त्यसमा पनि विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले कोषमा आवद्ध बिरामीलाई उपचारको क्रममा गर्नु पर्ने सह भुक्तानी मिनाहा गरेर थप सुविधा दिएको हो ।

नेपाल सरकारको सामाजिक सुरक्षा कोष अन्तर्गत विभिन्न संघ संस्थाहरु आवद्ध भए यता सामाजिक सुरक्षामा योगदानकर्ताहरु लाखौंको संख्यामा रहेका छन् । सामाजिक सुरक्षा कोषले नियमितरुपमा मासिक रकम जम्मा गर्ने योगदान कर्ता र उनको श्रीमान वा श्रीमतीलाई उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ । यो सुविधा लिन विभिन्न संघसंस्थामा कार्यरत योगदानकर्ताहरु र उनीहरुका श्रीमान वा श्रीमती बिरामी भई सामाजिक सुरक्षा कोषमा सूचीकृत अस्पतालमा गई उपचार गराउनु पर्ने हुन्छ ।

सुरक्षा कोषको नियमानुसार बिरामी बहिरङ्ग विभागमा आई जाँच गर्दा सुरक्षा कोषले तोकेको शुल्कको ८० प्रतिशत कोषले व्यहोर्ने र २० प्रतिशत रकम बिरामीले तिर्नुपर्ने हुन्छ । भर्ना भई उपचार गर्दा पनि यस्तैगरी भुक्तानी गर्नु पर्दछ । यसलाई थप सहज पारी बिरामीले भुक्तानी गर्नुपर्ने सह भुक्तानी मिनाहा गर्ने निर्णय गरी नोवेलले कोषमा आवद्ध विभिन्न रोजगारदाता संघ संस्थासँग सहकार्य गर्दै आएको छ । सह भुक्तानी पनि तिर्न नपर्ने भएपछि बिरामीहरुलाई उपचार प्राप्त गर्न सहज भएको नोवेलका जनसम्पर्क अधिकृत नविन दाहाल बताउनु हुन्छ । उहाँका अनुसार बिरामीको सुविधाका लागि पर्याप्त मात्रामा नाम दर्ता र विलिङ्ग काउण्टरहरूको व्यवस्था गरिएको छ । 

सामाजिक सुरक्षा कोषको प्रावधान अनुसार नियमित योगदान कर्ता र उनको श्रीमान वा श्रीमतीलाई बहिरङ्ग विभागमा बार्षिक २५ हजार सम्मको र भर्ना भई उपचार गराउँदा १ लाख सम्मको उपचार सुविधा उपलव्ध हुन्छ जसमा २० प्रतिशत सह भुक्तानी रकम बिरामीले ब्यहोर्नु पर्दछ । कार्यस्थलमा वा कार्यको सिलसिलामा दुर्घटना पर्दा कोषबाटै सम्पूर्ण उपचार खर्च प्राप्त हुन्छ भने अन्य अवस्थामा दुर्घटना हुँदा ७ लाख सम्मको उपचार सहुलियत प्राप्त हुने गरेको छ । नोवेलले सह भुक्तानी मिनाहा गरेको र दुर्घटना भई आकस्मिक उपचारकालागि आउने बिरामीलाई छिटोछरितो उपचारको लागि सहजकर्ताको व्यवस्था गरिएको अस्पताल निर्देशक डा. राजेश नेपालले बताउनु भयाे । 

सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदाय, संघ संस्थासँग सहकार्य गर्दै बिरामीहरुलाई सहुलियत शुल्कमा र अति विपन्न बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ । नेपालको पूर्वी भागदेखि सुदुर पश्चिमको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर मार्फत लाखौं बिरामीलाई उपचार सेवा पुर्याईसकिएकाे छ भने त्यस्ता शिविरबाट रिफर भएका विपन्न बिरामीहरुलाई विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा र काठमाडौं स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार गरिँदै आइएको छ ।













0 प्रतिकृया