सामाजिक सुरक्षा कोष अन्तर्गतका बिरामीलाई नोवेलमा उपचार गर्दा थप सुविधा
विराटनगर । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ता श्रमिक तथा उनको श्रीमान वा श्रीमती बिरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ । त्यसमा पनि विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले कोषमा आवद्ध बिरामीलाई उपचारको क्रममा गर्नु पर्ने सह भुक्तानी मिनाहा गरेर थप सुविधा दिएको हो ।
नेपाल सरकारको सामाजिक सुरक्षा कोष अन्तर्गत विभिन्न संघ संस्थाहरु आवद्ध भए यता सामाजिक सुरक्षामा योगदानकर्ताहरु लाखौंको संख्यामा रहेका छन् । सामाजिक सुरक्षा कोषले नियमितरुपमा मासिक रकम जम्मा गर्ने योगदान कर्ता र उनको श्रीमान वा श्रीमतीलाई उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ । यो सुविधा लिन विभिन्न संघसंस्थामा कार्यरत योगदानकर्ताहरु र उनीहरुका श्रीमान वा श्रीमती बिरामी भई सामाजिक सुरक्षा कोषमा सूचीकृत अस्पतालमा गई उपचार गराउनु पर्ने हुन्छ ।
सुरक्षा कोषको नियमानुसार बिरामी बहिरङ्ग विभागमा आई जाँच गर्दा सुरक्षा कोषले तोकेको शुल्कको ८० प्रतिशत कोषले व्यहोर्ने र २० प्रतिशत रकम बिरामीले तिर्नुपर्ने हुन्छ । भर्ना भई उपचार गर्दा पनि यस्तैगरी भुक्तानी गर्नु पर्दछ । यसलाई थप सहज पारी बिरामीले भुक्तानी गर्नुपर्ने सह भुक्तानी मिनाहा गर्ने निर्णय गरी नोवेलले कोषमा आवद्ध विभिन्न रोजगारदाता संघ संस्थासँग सहकार्य गर्दै आएको छ । सह भुक्तानी पनि तिर्न नपर्ने भएपछि बिरामीहरुलाई उपचार प्राप्त गर्न सहज भएको नोवेलका जनसम्पर्क अधिकृत नविन दाहाल बताउनु हुन्छ । उहाँका अनुसार बिरामीको सुविधाका लागि पर्याप्त मात्रामा नाम दर्ता र विलिङ्ग काउण्टरहरूको व्यवस्था गरिएको छ ।
सामाजिक सुरक्षा कोषको प्रावधान अनुसार नियमित योगदान कर्ता र उनको श्रीमान वा श्रीमतीलाई बहिरङ्ग विभागमा बार्षिक २५ हजार सम्मको र भर्ना भई उपचार गराउँदा १ लाख सम्मको उपचार सुविधा उपलव्ध हुन्छ जसमा २० प्रतिशत सह भुक्तानी रकम बिरामीले ब्यहोर्नु पर्दछ । कार्यस्थलमा वा कार्यको सिलसिलामा दुर्घटना पर्दा कोषबाटै सम्पूर्ण उपचार खर्च प्राप्त हुन्छ भने अन्य अवस्थामा दुर्घटना हुँदा ७ लाख सम्मको उपचार सहुलियत प्राप्त हुने गरेको छ । नोवेलले सह भुक्तानी मिनाहा गरेको र दुर्घटना भई आकस्मिक उपचारकालागि आउने बिरामीलाई छिटोछरितो उपचारको लागि सहजकर्ताको व्यवस्था गरिएको अस्पताल निर्देशक डा. राजेश नेपालले बताउनु भयाे ।
सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदाय, संघ संस्थासँग सहकार्य गर्दै बिरामीहरुलाई सहुलियत शुल्कमा र अति विपन्न बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ । नेपालको पूर्वी भागदेखि सुदुर पश्चिमको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर मार्फत लाखौं बिरामीलाई उपचार सेवा पुर्याईसकिएकाे छ भने त्यस्ता शिविरबाट रिफर भएका विपन्न बिरामीहरुलाई विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा र काठमाडौं स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार गरिँदै आइएको छ ।
0 प्रतिकृया