सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको मण्डन देउपुरमा
काठमाडौं । गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर लगेर रोग र शोकले थलिएका जनताको उपचारमा टेवा पुर्याउँदै आएका मोरङ क्षेत्र नं. ३ का सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट काभ्रेको मण्डनदेउपुरमा ४९३ जनता बिरामी लाभान्वित भएका छन् ।
नाल्दुम युवा क्लबसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा ३७ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण, ५७ जनाको भिडियो एक्सरे गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ९ जनाको दाँत निकालिएको थियो भने, १९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरमा केएमसीका चिकित्सकहरुले नाक कान घाँटी, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतको सेवाहरु दिएका थिए । सांसद शर्माले सर्वसाधारण नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनु भइरहेको छ । शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, असहाय नागरिकले बढी लाभ लिइरहेका छन् ।
0 प्रतिकृया