सिन्धुपाल्चोकका ८८ जना दीर्घ रोगीहरुको केएमसीमा निःशुल्क उपचार
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट रेफर भएर आएका बिरामीहरुलाई काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको छ । केएमसीले गत फाल्गुन २५ गते सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूलाई विशेष उपचार सेवा प्रदान गरेको हो ।
उक्त शिविरमा ८८ जना गम्भीर अवस्थाका बिरामीहरूलाई थप शल्यक्रिया र उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको थियो । केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले निःशुल्क स्वास्थ्य शिविरमा आएका अप्रेसन गर्नुपर्ने दीर्घ रोगीहरुलाई केएमसीमा उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत दाहालले दीर्घ रोगीहरुको उपचारलाई सहजता प्रदान गर्नका लागि केएमसीले फास्टट्रयाकबाट उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो । ‘यहाँ आउनु भएका दीर्घ रोगीहरुको ल्याब लगायत जाँच गरेपछि अप्रेसन गर्न सकिने बिरामीहरुलाई उहाँहरुको अवस्था हेरेर फास्टट्रयाकबाट अप्रेसन गर्ने प्रबन्ध गरेका छौं ।’ उहाँले भन्नुभयो । कलेजले उपचारमा लाग्ने औषधी र सामान वाहेक अन्य सबै प्रकारको उपचार निःशुल्क गरेको छ ।
यस्तै दाहालले काठमाडौं मेडिकल कलेज नेपालकै सुविधासम्पन्न अस्पताल भएको पनि जानकारी दिनुभयो । ‘नेपालमा भएका अन्य अस्पतालहरुमा भएका सबै सेवाहरु काठमाडौं मेडिकल कलेजमा उपलब्ध छ । क्यान्सर रोगको उपचारका लागि मेसिन मगाएका छौं । छाती चिरेर गर्ने मुटुको अप्रेसन वाहेक नेपालका जतिपनि ठूला अस्पतालहरु छन् त्यहाँ गर्ने मुटुका सबै प्रकारका उपचार नेपाल मेडिकल कलेजमा हुन्छ ।’
सांसद डा. शर्माको नेतृत्वमा काठमाडौं मेडिकल कलेजले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । निःशुल्क स्वास्थ्य शिविरबाट देशभरका लाखौं गरिब, विपन्न तथा असहाय नागरिकहरू लाभान्वित भइसकेका छन् ।
0 प्रतिकृया