गढी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
सुनसरी । सुनसरीको गढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गढी गाउँपालिका र कोशी मिडिया नेटवर्क प्रा.लि.को सहकार्यमा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने कार्य भएकाे छ ।
गाउँपालिकाका आशनारायण चौधरीको प्रमुख अतिथि तथा अध्यक्ष गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्काको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि खड्का, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र यादव, कृषि शाखा प्रमुख जिनि चौधरी, लेखा शाखा प्रमुख बाबुराम पौडेल, योजना शाखा प्रमुख योगराज निरौला, इन्जिनियर शाखा प्रमुख पुष्पराज चौधरी, पशु शाखा प्रमुख ब्रम्हदेव यादव, प्रशासन शाखा प्रमुख हरेराम शाह, जिन्सी शाखा प्रमुख धुर्व नारायण चौधरी लगाएत शाखाका प्रमुखहरूले आ–आफ्नो शाखाले गरेका कार्य प्रगति प्रतिवेदनहरू प्रस्तुत गर्नु भएको थियोे ।
सार्वजनिक सुनुवाईमार्फत नागरिकहरूका गुनासाहरू सुन्ने, उनीहरूको माग तथा आवश्यकताहरू बुझ्ने, साथै उपलब्ध सेवा तथा सुविधाहरूबारे जानकारी गराउने उद्देश्यका साथ आयाेजित कार्यक्रममा स्थानीयहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवा, कर्मचारीहरूका व्यवहार, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पशुपालन, कृषि, आर्थिक सहायता लगायतका विषयमा प्रश्नहरू उठाएका थिए ।
गाउँपालिकाका पदाधिकारीहरूले नागरिकहरूको प्रश्नहरूको उत्तर दिँदै हाल सञ्चालनमा रहेका योजनाहरू र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । साथै, जनताले उठाएका प्रमुख समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
सार्वजनिक सुनुवाईमा सार्वजनिक चासोका विषयमा जिम्मेवार पदाधिकारी तथा सेवाग्राही बीच प्रश्नोत्तर साथै सेवाग्राहीले सार्वजनिक विषयमा सेवा सुविधा प्रवाहमा आगामी दिनमा अपेक्षा गरेका सुधारहरु समेत प्रष्फुटित हुने र बस्तु, सेवाधिकारीहरुबाट उक्त सुधारहरु हासिल गर्ने सम्भावनाहरुको बारेमा जानकारी प्रदान गर्ने प्रकृयाबाट सुधारका प्रतिवद्धता रहेको गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साहले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्काका अनुसार कार्यक्रमबाट सेवाग्राही र सेवाप्रदायकबीच प्रत्यक्ष सम्वाद हुने भएकाले समस्याको उचित समाधान गर्न टेवा पुग्छ । यसले भविष्यका योजनाहरूलाई अझ प्रभावकारी बनाउन भूमिका खेल्ने उहाँकाे धारणा छ ।
कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रदिप कुमार चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष चन्द्र कुमार सरदार, वडा नम्बर २ का कुशेश्वर यादव, वडा नम्बर ६ का तेतर साहु लगायतले वडाका गतिविधिहरूको विषयमा जानकारी गराएका थिए ।
0 प्रतिकृया