काेशी प्राेजेक्ट साेकेसका प्रतिष्पर्धीहरू स्थलगत अध्ययनमा
सुनसरी। उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटीले इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुका बीचमा पर्यटन प्रोजेक्ट सोकेस–कोशी कार्यक्रमको आयोजना गर्दैछ ।
सो सोकेस कार्यक्रम प्रतिष्पर्धात्मक तरिकाले गर्न लागिएकाे छ । प्रतिष्पर्धामा नेपारभरबाट इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्ट) विषय अध्ययन गरिरहेका २१ वटा विद्यार्थीको टिमले सहभागिताका लागि आवेदन दिएकाेमा १० टिम छनौट भइसकेका छन् । उक्त छनौट प्रक्रियामा एक्मी कोस्टर टिम एक्मी इन्जिनियरिङ कलेज, एग्रो भिलेज टिम नेपाल इन्जिनियरिङ कलेज, बियोण्ड द ब्रिउ टिम ख्वपा इन्जिनियरिङ कलेज, टिम कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथफाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुरल रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज, पुल्चोक इयर फाइभ पुल्चोक क्याम्पसबाट छनौट भएका छन् ।
छनौट भएका १० टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडाबजार, राजारानी, रौता पोखरी, सोलु, संखुवासभा, पानीटार इलाम, सूर्याेदय अन्तु इलाम, माइपोखरी, ओखलढुंगा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरु छनौटमा परेका छन् । प्रतिष्पर्धीले उक्त स्थलमा गएर स्थलगत अध्ययनपश्चात सो प्रोजेक्टको ड्रयङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गर्नु पर्दछ ।
तयार भएका मोडेलहरुलाई काठमाडौंमा ३ दिन प्रदर्शनी गरिनेछ । प्रदर्शनी यहि जेठ ९ गतेदेखि ११ गतेसम्म सोह्रखुट्टेस्थित होटल जी रामायणामा प्रदर्शनी हुनेछ । यसै सिलसिलामा एक्मी एक्स्प्लोरर, रुरल रिड्र्ज विल्डर्स र केटुपिएले शुक्रबार धरानमा सञ्चारकर्मी भेटघाट कार्यक्रममा आफ्ना परियोजनाहरुको प्रस्तुती दिएका थिए । प्रतिस्पर्धात्मक प्रतिभा देखाउने यो अवसर विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न तथा व्यावसायिक रुपमा अगाडि बढ्न प्रेरित गर्नेछ । नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्न, तथा स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउन यो प्रतियोगिता महत्वपूर्ण हुनेछ ।
प्रतियोगिताकाे प्रमुख उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने, पर्यटन व्यवसायमा नयाँ उपायहरूको खोजी गरी विद्यार्थीहरूलाई व्यावसायिक स्तरमा अवसर प्रदान गर्ने रहेकाे छ ।
सो प्रदर्शनीमा लगानीकर्ताहरुलाई अवलोकनका लागि आह्वान गरिनेछ । नवप्रवर्तक विद्यार्थीहरु र लगानीकर्तालाई जोड्नका लागि आयोजकले पुलको कार्य गर्नेछ । यसैगरी कार्यक्रममा संघीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, बित्तिय संस्था, विद्यार्थी लगायतको उपस्थिति रहनेछ ।
प्रतियाेगिताकाे फाइनल राउण्डमा ७ जनाको विज्ञ निर्णायकको टोलीले बिजेताहरु घोषणा गर्नेछन् । जसमा प्रथम हुने टिमलाई नगद रु.१ लाख, द्वित्तीयलाई नगद रु. ५० हजार, तृतियलाई रु. २५ हजार र सहभागी सम्पूर्ण टिमले रु. १० हजार साथै प्रमाणपत्र, एवं आकर्षक गिफ्ट पाउनेछन् ।
काठमाडौंको प्रदर्शनीपश्चात सो प्रोजेक्टहरु कोशी प्रदेशमा पनि सोकेसिङ गरिनेछ । जसले गर्दा विद्यार्थीहरुको एक्सपोजर हुनका साथै उनीहरुलाई थप उर्जा प्राप्त हुनेछ । कोशीमा प्रदर्शनीको मिति र स्थानको तयारी भइरहेको आयाेजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले बताएकी छन् ।
0 प्रतिकृया