‘कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन’ शेखर काेइराला
एक्सन खबर
फिदिम । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । आम सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोईरालाले काँग्रेस कार्यकर्ताहरु स्वभिमानी बन्नुपर्ने बताएका हुन् ।
‘नेपाली काँग्रेसका कार्यकर्ताहरुले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदैन,’ कोईरालाले भने ‘कार्यकर्ताहरु स्वाभिमानी बन्नुपर्छ । आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।’
नेपाली काँग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप लगाए । ‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडाैं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोईरालाको भनाई थियो ।
आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाडाैंलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोहीदिन राजावादीहरुले पनि काठमाडाैं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोईरालाको ठहर थियो ।
0 प्रतिकृया