‘नैतिकताका आधारमा गृहमन्त्रीले राजिनामा दिनुपर्छ’ कांग्रेस सांसद सुनिल शर्मा
एक्सन खबर
काठमाडौं । नक्कली भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने कांग्रेस सांसद डाक्टर सुनिल कुमार शर्माले दाेहाेर्याउनु भएकाे छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका सांसद डा. शर्माले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जिकीर गर्नु भयाे ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पार्टीले आफूहरूलाई कारबाही गर्ने भन्ने हल्लाबारे कुनै आधिकारिक जानकारी नभएको र त्यस्तो निर्णय भए आफू त्यसको सामना गर्न तयार रहेको समेत बताउनु भयाे । ‘यो मिडियामा सुनेको कुरा हो, पार्टीको आधिकारिक निर्णय होइन । पदाधिकारी बैठकमा विभिन्न एजेन्डामा छलफल हुन्छन्, तर त्यो निर्णय नै हो भन्ने मलाई थाहा छैन ।’
नेपाली कांग्रेस बिपी कोइराला र गणेशमान सिंहले स्थापना गरेको पार्टी भएको उल्लेख गर्दै डा. शर्माले भन्नुभयाे, ‘वर्तमान सभापति शेरबहादुर देउवामा पनि बिपीको आत्माको केही अंश बाँकी छ । त्यसैले पार्टीले यस्तो गम्भीर त्रुटि गर्नेमा विश्वास छैन । यदि गर्यो भने हामी त्यसको सामना गर्नेछौं ।’
सांसद शर्माले यति ठूलाे विवाद भइसकेपछि पदमा बसिरहन नमिल्ले जिकीर गर्नुभयाे । ‘यो माग होइन, हाम्रो सल्लाह हो । यति ठूलो विवाद भइसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धान सकिएपछि फेरि फर्किन सकिन्छ ।’
सांसद शर्माले पार्टीले क्लिन चिट दियो भन्दैमा नहुने पनि बताउनु भयाे । ‘सबैभन्दा ठूलो क्लिन चिट उपरवालाले दिन्छन्, अनि आफ्नो अन्तर आत्माले दिन्छ । अनुसन्धानको प्रक्रियाबाट निष्कर्ष आउनुपर्छ ।’ कांग्रेसभित्रै आफूहरूलाई प्रतिपक्षी जस्तो व्यवहार गरिएको भन्ने आरोपमा उहाँले आफुहरू जनता, देश र त्यसपछि मात्रै पार्टीप्रति उत्तरदायी रहेकाे तर्क गर्नुभयाे । ‘व्यक्ति खराब हुन सक्छ, पार्टी होइन ।’ कांग्रेसको सिद्धान्त, आदर्श आज पनि संसारमा उत्कृष्ट रहेकाे भन्दै सांसद शर्माले भन्नुभयाे ।
त्यस्तै उहाँले राप्रपाले जेठ १५ गतेदेखि गर्न लागेकाे आन्दाेलनका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको विवादास्पद अभिव्यक्तिलाई कांग्रेसले समर्थन नगर्ने पनि बताउनु भयाे । ‘प्रधानमन्त्री राष्ट्रको अभिभावक हो । राप्रपाका साथीहरूले हेलिकप्टर लिएर तयार हुनुस् भनेपछि त्यसको प्रतिक्रियामा त्यो आएको होला । तर प्रधानमन्त्रीको अभिव्यक्ति लोकतान्त्रिक पद्धतिभित्र पर्न गाह्रो छ, त्यो अत्याधिक भावनात्मक देखियो । कांग्रेसले त्यसलाई समर्थन गर्दैन ।’ लोकतन्त्रमा फरक विचार राख्नेलाई शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न दिनुपर्ने उहाँकाे धारणा छ ।
0 प्रतिकृया