Follow us:


Follow us

२२ फागुन २०८२, शुक्रवार
२२ फागुन २०८२, शुक्रवार


मंगोलियाली प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायो : डा. सुनील शर्मा

एक्सन खबर
जेठ, २३, २०८२


मंगोलियाली प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायो : डा. सुनील शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा. सुनील शर्माले मंगोलियाका प्रधानमन्त्रीले आफ्ना छोरामाथि भ्रष्टाचारको प्रश्न उठेपछि दिएको राजीनामालाई उदाहरणीय भन्दै नेपालको राजनीतिमा गहिरो नैतिकताको अभाव भएको टिप्पणी गर्नुभएको छ ।

डा. शर्माले सामजिक संजालमा लेख्दै भन्नुभयो, मंगोलियाका प्रधानमन्त्रीले छोरामाथिको भ्रष्टाचार आरोपपछि राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेका छन्, तर यसले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्याएको जस्तो अनुभूति भएको छ ।’

उहाँले नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको सन्दर्भ जोड्दै २०१५ सालको ऐतिहासिक घटनाको स्मरण गर्नुभयो । विपी कोइरालाले प्रधानमन्त्री हुँदा आफ्नै भाई तारणिप्रसाद कोइराला सहभागी रहेको मन्त्रिपरिषद्को भुमिसुधार मन्त्रालयमा गणेशमान सिंहमाथि उठेको आरोपको निष्पक्ष छानबिनका लागि राजा वीरेन्द्रको विश्वासपात्रमार्फत समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याएको प्रसंग उल्लेख गर्दै उहाँले सो ऐतिहासिक क्षणबाट आजका नेताहरुले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रश्न गर्नुभयो, ‘विपीका अनुयायी हामीहरुले त्यो नैतिक धरातललाई जिवन्त राख्न सकेका छौं त ? हामी नैतिकता सहितको राजनीतिका लागि किन चुकिरहेका छौं ?’

डा. शर्माका अनुसार अहिले आम जनतामा राजनीति र नेताप्रतिको विश्वास कमजोर हुँदै गइरहेका बेला नेताहरूले विपी कोइरालाले देखाएको नैतिकताको संस्कारबाट सिकेर जिम्मेवार र नैतिकवान बन्ने दिशामा लाग्न जरुरी छ । ‘आजको नेपालको राजनीतिको मुख्य आवश्यकता भनेको नैतिकतामा आधारित नेतृत्व विकास गर्नु हो,’ उहाँले स्पष्ट पार्नुभयो ।

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र  सांसद हुनुहुन्छ । उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनु भएकाे छ । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।

डा. शर्माकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उहाँले जनाउनु भएकाे छ । 

हालै उहाँले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गर्नु भएकाे छ । साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसक्नु भएकाे छ । उहाँका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएकाे छ ।














0 प्रतिकृया