Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


‘सिस्टमले नै नागरिकलाई कर तिर्नुपर्छ भन्ने महशुष गराउनु पर्छ’ सांसद भगबती चाैधरी

एक्सन खबर
असार, २, २०८२


‘सिस्टमले नै नागरिकलाई कर तिर्नुपर्छ भन्ने महशुष गराउनु पर्छ’ सांसद भगबती चाैधरी

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले नै नागरिकलाई कर तिर्नुपर्छ भन्ने कुरा महशुष गराउनुपर्ने बताउनु भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद चाैधरीले कर किन तिर्नुपर्छ भन्ने कुरा प्रत्येक नागरिकलाई बुझाउनु पर्ने बताउनु भएकाे हाे । 

आजको प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै सांसद चाैधरीले भन्नुभयाे, 'हामी बजारमा गएर केही वस्तु तथा सेवा किन्यौँ भने तपाईँलाई बिल चाहिन्छ ? भनेर सोध्ने गरिन्छ । त्यस्तो किन गरिन्छ ?', सांसद चौधरीले प्रश्न गर्नुभयाे, 'हाम्रो अन्तः शुल्क के हुन् ? अन्य अतिरिक्त शुल्कहरू के हुन् भन्ने कुराहरू हाम्रो सिस्टमले नै फिलिङ गराउनुपर्छ ।'

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटलाई समर्थन गर्दै उहाँले केही समयदेखि कमजोर रहेको मुलुकको अर्थतन्त्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विभिन्न प्रयासपछि सुधार हुँदै आएको दाबी गर्नुभयाे । 'सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासहरू सार्थक बन्दै गइरहेको परिप्रेक्ष्यमा आगामी आर्थिक वर्षको बजेटले पनि मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउँदै लैजानेमा हामी विश्वस्त छौँ', पूर्वमन्त्री चौधरीले भन्नुभयाे, 'देशको समग्र पक्षलाई मध्यनजर गर्दै ल्याइएको बजेटका समग्र पक्षलाई हेर्दा सन्तुलित, यथार्थपरक, स्रोत सुनिश्चितताको सम्भावना, प्रभावकारी सदुपयोगिता गर्न सक्ने, नतिजा देख्न सक्नेगरी आयोजना तथा खर्चहरूलाई प्राथमिकीकरण आधार तयगरी अर्थपूर्ण सकारात्मक प्रतिफल आउन सक्ने गरी ल्याइएको छ ।'

बजेटले जेनेरेसन जेड अर्थात् जेनजी पुस्तालाई इन्कुवेसन डेभलपमेन्ट सेन्टर सञ्चालन गर्नेदेखि देशभित्रै यी युवालाई रेट्रेन गर्न अवसरहरू सृजना गर्न सक्ने, युवा लक्षित प्रविधि र स्टार्टअप व्यवसायलाई प्रवर्द्धन लगानी प्रवर्द्धनका कुराहरू, ३ प्रतिशत ब्याजदरमा २ देखि २० लाखसम्म कर्जा अनुदान, महिला साना माध्यम एसएमइएस एमएसएमइएसलाई ट्याक्स छुटको व्यवस्था गरिएको भन्दै बजेटका राम्रा कुराहरूलाई समर्थन गर्न प्रतिपक्षीलाई समेत चाैधरीले आग्रह गर्नुभयाे ।

'डिजिटल ट्रान्जेक्शन, पेमेन्ट, कर्जा व्यवस्थापन, भ्रष्टाचार निवारण, सार्वजनिक सेवालाई चुस्त दुरुस्तता नीति कुराहरूदेखि समय अनुसारको प्रविधिमा जोड र विकास, बजेट कार्यान्वयनबाट ६ प्रतिशतसम्म आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फीति स्पष्ट लक्ष्यका साथ बजेटलाई सार्थकता दिन नयाँ वैकल्पिक लगानीका क्षेत्र समेत निर्धारण गरिएका आधारहरू सकारात्मक पक्षहरू हुन्', चाैधरी भन्नुभयाे । 

बजेटका राम्रा कुराहरूलाई समर्थन गर्न सांसद चौधरीले आग्रह गर्दै यद्यपि बजेटको समानुपातिक वितरण प्रणालीमा केही कमी भने रहेको जिकीर गर्नुभयाे । लगानी प्रवर्द्धनका लागि उत्पादनलाई वृद्धि गर्दै निर्यात प्रवर्द्धन गर्ने, कर सूचना प्रणालीमा सुधार, दोहोरो करमा व्यवस्थापन गर्ने, निजी क्षेत्रलाई प्रवर्द्धन गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने कुरा सकारात्मक भएको भन्दै उहाँले स्टार्टअपलाई विशेष रूपमा अगाडि बढाउने कुराहरू निकै सकारात्मक रहेको दाबी गर्नुभयाे ।

पूर्वमन्त्री चौधरी भन्नुहुन्छ 'बजेट कार्यान्वयनका केही चुनौतीहरू छन् । बजेटलाई ठिक ढंगले लैजान अहिलेको अवस्थामा कहाँ कहाँबाट परिपूर्ति गर्न सकिन्छ भन्ने कुराहरूमा ध्यान दिनुपर्छ ।' विगतमा पटके विकास र खुद्रे योजनाहरू बन्दा त्यसले देश र जनताको समृद्धिमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै वर्तमान सरकारले संघीयताको मर्म अनुरूप स्थानीय, प्रदेश सरकारलाई प्रभावकारी र बलियो बनाउँदै साना योजनाहरू स्थानीय र प्रदेशमा पठाउने तथा ठूला, दीर्घकालीन र राष्ट्रिय महत्वका योजनाहरूलाई संघमा राखेर बजेट तयार पारेकोले यो पटकको बजेट विगतको भन्दा वस्तुपरक, तथ्यपरक, आत्मनिर्भरता उन्मुख, युवा र जनमुखी रहेको उहाँको भनाई थियो ।

सरकारले मुलुकलाई सबल, समृद्ध बनाउने सवालमा, युवाहरूलाई स्वदेशमै केही गरौँ भन्ने सवालमा महत्त्वपूर्ण काम गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेटले समग्र मुलुकको अर्थतन्त्रलाई सुधार्दै ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षालाई पुरा गर्न सफल हुने सांसद चौधरीको विश्वास छ ।













0 प्रतिकृया