बजेट बनाउने मन्त्रीहरूलाई सांसद शर्माकाे प्रश्नः तपाईंहरूको हृदय छ कि छैन ?
एक्सन खबर
काठमाडाैं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले आगामी आर्थिक वर्षकाे बजेटमा ४, ५ वटा जिल्लालाई मात्र प्राथमिकता दिएर अन्य जिल्लाहरूका जनतालाई अन्यायमा पारेकाे भन्दै बजेट विनियाेजन गर्ने मन्त्रीहरू प्रति कठाेर सुनिए ।
संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका सांसद डा. शर्माले सम्बोधनको क्रममा बुद्ध जन्मेको राष्ट्रमा बुद्धको दर्शन केवल पूजा र भाषणमा सीमित भएकोप्रति गम्भीर चिन्ता समेत व्यक्त गरे । उनले भने, ‘सिद्धार्थ गौतम राजदरबार त्यागेर जनताको दुःख बुझ्न वनतिर लाग्नुभयो । आजका अर्थमन्त्रीज्यू पनि गाउँबाट आउनु भएको हो । तर, जब सिंहदरबारमा पुगिन्छ, विवेक हराउँछ कि जस्तो लाग्छ ।’
‘पाँचवटा जिल्लाका नागरिक मात्रै जनता होइनन्,’ भन्ने शीर्षकगत भनाइमार्फत उनले बजेटको असमान वितरणप्रति गम्भीर असन्तुष्टि जनाए। उनले भने, ‘आज छातीमा हात राखेर सोच्नुस्—के देशका पाँचवटा जिल्लाका नागरिक मात्र जनता हुन् ? मुगु, मधेश, पहाडका दुर्गम गाउँहरूमा न पुल छ न सिँचाइ, न शिक्षा न स्वास्थ्य । त्यहाँका नागरिकको पीडा पनि उतिकै वास्तविक हो ।’
सांसद शर्माले सरकारको संवेदन शून्यताको आलोचना गर्दै प्रश्न गरे, ‘माननीय मन्त्रीज्यूहरू, तपाईंहरूको हृदय छ कि छैन ? विवेक बाँकी छ कि छैन ?’ वर्तमान सत्तालाई आत्ममूल्यांकन गर्न आग्रह गरे ।
उनले स्पष्ट रूपमा बजेट समन्यायिक हुनुपर्नेमा जाेड दिए । केही सीमित क्षेत्रलाई प्राथमिकतामा राखेर बनाइएको बजेटले देशका सबै नागरिकको विश्वास जित्न नसक्नेतर्फ उनले सदनको ध्यानाकर्षण गराए । ‘पाँच जिल्लाका मतदाताको भरमा सत्ता टिक्दैन । समावेशी विकास र समान पहुँच सुनिश्चित नभएसम्म बजेटको औचित्य जनताले महसुस गर्न सक्दैनन् । अब विवेक बोल्नुपर्छ, बजेट जनताको हुनुपर्छ ।'
सांसद शर्माले विद्युत खरिदका सन्दर्भमा सरकारले ल्याउन खाेजिरहेकाे टेक एण्ड पे नीतिकाे पनि विराेध जनाए । जलविद्युतमा नेपाली लगानीलाई निरूत्साहित र धरासायी बनाउने उद्देश्यले विदेशी लगानी रिजाउनका लागि ल्याउन लागिएकाे टेक एण्ड पेकाे विरूद्ध आउँदा दिनमा संसदमा खराेरूपमा प्रस्तुत हुने उनकाे भनाइ छ ।
0 प्रतिकृया