नेपाल इन्जिनियरिङ कलेजमा नेक इग्नियमकाे पहिलाे दिन ह्याकाथान
एक्सन खबर
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) द्वारा आयोजित नेक इग्नियम २०२५ सुरु भएको छ । मंगलबार पहिलो दिन ह्याकाथन कार्यक्रम भएको छ ।
नेक ह्याकाथनमा सहभागीहरुले ८ घण्टा भित्रमा कोड कम्पिटिसन अन्तरगत १० वटा नयाँ प्रोजेक्ट तयार पार्नुपर्ने थियो । प्रतियोगितामा आयोजक नेपाल इन्जिनियरिङ कलेजसगै एभरेष्ट इन्जिनियरिङ कलेज, थापाथली क्याम्पस, ख्वप कलेज अफ इन्जिनियरिङ, एक्मी इन्जिनियरिङ कलेज लगायतबाट १२ वटा प्रतिष्पर्धी टीम सहित १८ वटा टीमले सहभागीता जनाएको नेक इग्नियमका संयोजक सहायक प्राध्यापक विश्वदिप मैनालीले जानकारी दिनुभयो ।
तीनदिने कार्यक्रमको दोश्रो दिन बुधबार सहकार्य र एकीकृत नवप्रवर्तनलाई प्रोत्साहन गर्ने ‘एक विश्व एक समाधान’ शीर्षकको आन्तरिक कार्यक्रम आयोजना हुनेछ । तेश्रो तथा अन्तिम दिन विभिन्न प्रतियोगिताहरु हुने बताइएको छ । बिहीबार बृहद प्रदर्शनी सहित हुने कार्यक्रमको अध्ययन अवलोकनका लागि विभिन्न उद्योगहरुबाट समेत आउने छन् ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्न तथा उनीहरुको क्षमता अभिबृद्धि गर्न र एक अर्कामा ज्ञान बाँड्ने अवसर दिलाउन कार्यक्रम गरिएको बताउनु भयो ।
बिहीबार पोस्टर डिजाइन प्रतियोगिता, पप्सिकल ब्रिज प्रतियोगिता, आर्किटेक्चरल मोडेल शोकेस, रोबोसकर प्रतियोगिता हुनेछ । साथै टेकएक्स इनोभेसन मेला (कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूद्वारा परियोजना प्रदर्शनी), वास्तुकला, सिभिल र सिभिल एण्ड रुलर इन्जिनियरिङका विद्यार्थीहरूका लागि नवीन पूर्वाधार चुनौती कार्यक्रम हुने संयोजक सहायक प्राध्यापक मैनालीले जानकारी दिनुभयो ।
नेक इग्नियमलाई प्रवर्द्धन गर्न उपत्यकाका इन्जिनियरिङ कलेजहरूमा फ्ल्यास मोब गरिएको थियो । कार्यक्रममा डिप्लोमा तथा प्लस २ कलेजहरूबाट नवीन मोडेलहरूको खुला विज्ञान प्रदर्शनी हुनेछन् । प्रतियोगितामा विजेता उपविजेताहरुका लागि ३ लाख रुपैंयाको पुरस्कारहरु राखिएको छ ।
0 प्रतिकृया