व्यवसायी दुर्गा प्रसाईं रिहा, स्वागत गर्न कारागार पुगे सांसद शर्मा
एक्सन खबर
काठमाडाैं । सामाजिक अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं धराैटीमा रिहा भएसँगै उहाँकाे स्वागतमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् । बैकिङ कसूरमा उच्च अदालत पाटनले २८ लाख धराैटीमा रिहा गर्ने आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका व्यवसायी प्रसाईंलाई स्वागत गर्न कांग्रेस सांसद डा. शर्मा पुगेका हुन् ।
धरौटी बुझाए पछिको बाँकी प्रक्रिया पूरा गर्न डिल्लीबजार कारागार पुगेका प्रसाईंलाई लिन सांसद शर्मा कारागार नै पुगेका हुन् । त्यसाे त डा. शर्माले प्रसाईंलाई राजनीतिक प्रतिशाेध साँधिएकाे भन्दै आइरहेका थिए । बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कूल २८ लाख धरौटी मागेकोमा उनले सोमबार साँझ सो रकम बुझाएर डिल्लीबजार कारागार फर्किएका छन् ।
प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा धरौटीमा छाड्ने आदेश भएको हो ।
उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । भने, उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले राजावादी आन्दोलनसँग जोडिएको मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
'आपराधिक उपद्रव कसुरमा भने दुर्गा प्रसाईंको हकमा अभियोग दाबी बमोजिम घटनामा उनको उपस्थिति र उनले प्रत्यक्ष रूपमा सो कार्य गराउन लगाए, अह्राएको भन्ने विश्वासयोग्य प्रमाण पेस हुन सकेको देखिँदैन ।'अदालतको आदेशमा भनिएको छ ।
जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई जेठ २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 'उनलाई थुनामा राख्ने जिल्ला अदालतबाट जेठ २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ,' उच्चको आदेशमा उल्लेख छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले प्रसाईंविरूद्ध संगठित अपराध, राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुरमा समेत मुद्दा दायर गरेकोमा जिल्ला अदालतले भने आपराधिक उपद्रव कसुरबाहेक अन्य कसुरमा मनासिब आधार नदेखिएको बताएको थियो । आपराधिक उपद्रव कसुरबाहेकको जिल्ला अदालतको आदेश भने ठीक भएको उच्च अदालतको जिकिर छ ।
अदालतको आदेशपछि प्रसाईंले सामाजिक सञ्जालमार्फत देश निर्माणको भावी योजनासहित घर फर्किरहेको उल्लेख गरेका छन् । ‘न्याय मरेको छैन भन्ने आभाष दिलाउनु हुने समस्त श्रीमान सहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन । म मेरो लागि हैन, देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन, वचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन’ उनले भनेका छन् ।
0 प्रतिकृया