Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


वर्तमान राजनीतिक संरचना जनताको आवाज सुन्न असफलः सांसद सुनिल शर्मा

एक्सन खबर
भदौ, २३, २०८२


वर्तमान राजनीतिक संरचना जनताको आवाज सुन्न असफलः सांसद सुनिल शर्मा

काठमाडाैं । नेपाली कांग्रेसमा प्रभावशाली सांसद डाक्टर सुनिल कुमार शर्माले जेन—जी पुस्ताले उठाएको आवाजलाई बुट र बन्दुकले दमन गर्ने क्रुरता सरकारले देखाएको बताउनु भएकाे छ । आज राजधानीकाे नयाँ बानेश्वरसँगै देशका विभिन्न भागमा स्वस्फुर्त आन्दाेलनमा उत्रिएका जेन—जी पुस्ताहरूमाथि राज्यले बर्बरता देखाएकाे भन्दै सांसद शर्माले सरकारकाे बिराेध जनाउनु भएकाे हाे । 

सामाजिक सञ्जालमा लेख्दै सांसद शर्माले भन्नु भएकाे छ,‘अभिव्यक्ति स्वतन्त्रतामा सरकारले लगाउन खोजेको लगाम, चरम गरिबी, उच्च बेरोजगारी, व्यापक भ्रष्टाचार, कुशासन, राज्यको सम्पत्तिमा हुने दोहन, नेताका छोराछोरीका अस्वाभाविक मोजमस्ती, आलिशान जीवनशैली (नेपोबेबी) को विरोधमा जेन—जी पुस्ताले उठाएको आवाजलाई बुट र बन्दुकले दमन गर्ने क्रुरता सरकारले देखाएको छ त्यो अत्यन्त लज्जाजनक छ ।’

सांसद शर्माले जेन—जी पुस्ताको आक्रोश र मागलाई गंभिरतापुर्वक सुन्नु सत्तारूढ नेपाली कांग्रेस र सरकारकाे कर्तव्य भएपनि वर्तमान राजनीतिक संरचना जनताको आवाज सुन्न असफल भएको देखाएको उल्लेख गर्नु भएकाे छ । ‘जेन—जी पुस्ताको आक्रोश र मागलाई गंभिरतापुर्वक सुन्नु हाम्रो पार्टी र सरकारको कर्तव्य थियो । तर आज राजधानी र देशैभर फैलिएको आन्दोलन, भडकिएको हिंसा, दमन, गोली प्रहार र युवाहरुको मृत्युले देश नै आक्रान्त बनेको छ । हामी वी. पी. कोइराला जस्तो देश र जनता प्रति समर्पित जननेताको आदर्शबाट प्रेरित भएर कांग्रेसमा छौं, त्यो पार्टी आज यस्ता घटनामा अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा मुछिएको देख्दा, मलाई लज्जाबोध भएको छ ।’ सांसद शर्माले लेख्नु भएकाे छ । 

यस्तै उहाँले इतिहासमै पहिलोपटक संसद भवनको परिसरभित्र युवा प्रदर्शनकारीको प्रवेश भएको उल्लेख गर्दै यो केवल प्रतीकात्मक घटना मात्र होइन, यसले जनता आफ्ना प्रतिनिधि र संसदसँग असन्तुष्ट रहेको, लोकतन्त्रप्रति भरोसा घटिरहेको र वर्तमान राजनीतिक संरचना जनताको आवाज सुन्न असफल भएको देखाएको जिकीर गर्नु भएकाे छ । 

यो घटनाले नेतृत्वको गैर जिम्मेवारीपन र संरचनाको कमजोरी उजागर गरेको भन्दै उहाँले जेन—जी पुस्ताकाे आन्दोलन विरोध मात्र नभइ यो देशभक्तिको भाव, युवापुस्ताको भविष्यप्रतिको चिन्ता र राष्ट्र विकासप्रतिको तीब्र चाहनाको प्रतीक रहेकाे तर्क गर्नु भएकाे छ । साथै, उहाँले आजको आन्दोलनका क्रममा जीवनको बलिदानी दिएका सबै प्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन—जी का आवाजहरुलाई गम्भिरता र उच्च प्राथमिकताका साथ लिई समयमा नै सम्बोधन गर्न आग्रह पनि गर्नु भएकाे छ । 

सरकारले गतसाता फेसवुक, युट्युव, एक्स, इन्स्टाग्राम जस्ता २६ वटा सामाजिक सञ्जालहरू सञ्चालनमा राेक लगाएपछि चर्काे आलाेचना भइरहेकाे थियाे । त्यसपछि जेन—जी पुस्ताले स्वतस्फुर्त सेप्टेम्बर ८ मा भ्रष्टाचार र सामाजिक सञ्जालमाथिकाे प्रतिबन्ध विरूद्ध सडकमा आन्दाेलन गर्ने निर्णय गरेका थिए । 

साेमबार राजधानी काठमाडाैंसँगै देशका विभिन्न शहरहरूमा भएकाे प्रदर्शनमा प्रहरीले ब्यापक दमन गरी गाेली चलाउँदा कम्तिमा १९ जनाकाे मृत्यु भइसकेकाे छ । भने, करिब ४ सय जना घाइते भएका छन् ।













0 प्रतिकृया