Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


“संवैधानिक बाटोबाटै राजनैतिक अन्योलताकाे निकास निकाल्नु पर्छ” सांसद सुनिलकुमार शर्मा

एक्सन खबर
भदौ, २७, २०८२


“संवैधानिक बाटोबाटै राजनैतिक अन्योलताकाे निकास निकाल्नु पर्छ” सांसद सुनिलकुमार शर्मा

काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गदै सांसद शर्माले आन्दोलनमा मारिएका र घाइते भएका युवाहरु प्रति दुःख व्यक्त गर्दै भने, “सहादत प्राप्त हुनु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो पीडादायी क्षणलाई हामीले सुधारको अवसरमा रूपान्तरण गर्नुपर्छ ।”

शर्माले हालको राजनैतिक अन्योलताका बीच मुलुकलाई संवैधानिक बाटोबाटै निकास दिनुपर्नेमा जोड दिएका छन् । उनले आन्दोलनरत युवा समूह, सबै राजनीतिक दल, नागरिक समाज र संवैधानिक विज्ञहरूको सहभागितामा संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरेका छन् ।

यस्तै, सांसद शर्माले उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी २०४६ सालपछि भएका सबै उच्च ओहोदाधारीको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गरिनु पर्ने उल्लेख गरेका छन् । उनले छ महिनादेखि एक वर्षभित्र आम निर्वाचन गर्ने, निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह गर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री हुन नपाउने व्यवस्था गर्ने, न्यायालय सुधारका लागि विगतमा भएका राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत न्यायाधीश नियुक्त गर्ने प्रस्तावहरू अगाडी सारेका छन् । 

यी हुन् सांसद शर्माका प्रस्तावहरू :

अन्तरिम सरकार गठन: स्वच्छ छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने ।

छ महिनादेखि एक वर्षभित्र आम निर्वाचन: निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह गर्ने ।

शक्ति सन्तुलन: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री हुन नपाउने व्यवस्था गर्ने ।

न्यायालय सुधार: विगतमा भएका राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत न्यायाधीश नियुक्त गर्ने ।

भ्रष्टाचार छानबिन: उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी २०४६ सालपछि भएका सबै उच्च ओहोदाधारीको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने ।

राजनीतिक दल सुधार : राजनीतिक दलको पदाधिकारीहरुको कार्यकाल ४ वर्षमा सीमित गर्ने, अनिवार्य महाधिवेशन नगरेमा दलको दर्ता स्वतः खारेज गर्ने ।

विशेष आयोगको सिफारिसमा मात्र विशेष अधिवेशन : संसदलाई अस्थायी रूपमा निष्क्रिय राखी, आवश्यक परेमा उच्चस्तरीय आयोगको सिफारिसमा मात्र विशेष अधिवेशन बोलाउने ।

शर्माले थपे, “यो केवल सरकारको संकट होइन, प्रणालीगत संकट हो । अब दलहरूले छलकपट र दाउपेच त्यागेर इमानदारीपूर्वक नयाँ बाटो रोज्नुपर्छ । युवाको सपना, आमजनताको अपेक्षा र लोकतान्त्रिक मूल्य सुरक्षित गर्न हामी सबैले संविधानभित्रको बाटो अपनाउनुपर्छ ।”

उनले राष्ट्रपतिलाई, आन्दोलनरत युवाहरूलाई, राजनीतिक दलहरूलाई र नागरिक समाजलाई “राष्ट्रिय एकता, संयमता र मेलमिलापमार्फतै मुलुकलाई निकास दिन” आह्वान गरेका छन् । डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र  सांसद हुन् । उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।













0 प्रतिकृया