अन्तरिम सरकारमा खनाल अर्थमन्त्री, कुलमान उर्जा र अर्याललाई गृह मन्त्रालय
एक्सन खबर
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो अन्तरिम सरकारमा रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जामन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सुरुमा फोनमा छलफल गरेपछि मन्त्रीहरूलाई कार्यालयमा बोलाएर टुंगो लगाएकी हुन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
साथै, कानूनविद् अधिवक्ता ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ, तर उनले अहिलेसम्म सहमति जनाएका छैनन् । अर्याललाई गृहमन्त्रीकाे प्रस्ताब गरिएकाे छ । उनले कानून मन्त्रालयकाे पनि जिम्मेवारी पाउने संभावना छ ।
अर्थमन्त्रीकाे जिम्मेवारी प्राप्त गर्ने खनाल पूर्वअर्थसचिव हुन् । उनले केपी शर्मा ओलीकाे पालामा आर्थिक सुधार सम्बन्धी ठोस प्रतिवेदन तयार पारेका थिए । घिसिङ पूर्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन्, जसले लोडसेडिङ कम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनीहरूलाई भाेली सपथ खुवाउन तयारी भएकाे छ । श्राेतका अनुसार अहिलेलाई ११ सदस्यीय मन्त्री मण्डल बनाउने तयारी छ । प्रधानमन्त्री कार्कीले यसअघि सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिसकेकी छन् । कार्कीको अन्तरिम सरकार केपी ओलीको राजीनामा र प्रतिनिधिसभा विघटनपछि गठन भएको हो, र आगामी फागुन २१ मा निर्वाचन हुने घोषणा भइसकेको छ ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी थिइन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारी संरचना ध्वस्त गर्नेहरूलाइ कसरी नेपाली भन्ने भन्दै प्रश्न गरिन् । ‘बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए ? अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’
प्रधानमन्त्री कार्कीले यस्ता गतिविधिहरु षडयन्त्रपूर्वक भएको हुनसक्ने बताउँदै जेनजी युवा प्रदर्शनको क्रममा भएका यस्ता घटनाको अनुसन्धान गर्ने र कारबाही गर्ने पनि बताइन् । ‘हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षड्यन्त्रै भएको हो कि भन्ने लाग्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले सर्वोच्च अदालत, सिंहदरबार लगायतका भौतिक संरचनाहरु जल्दा महत्वपूर्ण कागजातहरु जलेको र सरकार शून्यको अवस्थामा पुगेको उनले बताइन् । ‘भौतिक क्षतिले केही हुँदो रहनेछ । त्यो त बनाउन पनि सकिन्छ । ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौं । हाम्रो अवस्था शून्यमा छ,’ उनले भनिन् ।
0 प्रतिकृया