Follow us:


Follow us

३० माघ २०८२, बिहिवार
३० माघ २०८२, बिहिवार


दाङमा सिकलसेलका बिरामीको परिक्षण सुरु, करिब ९ सयले गरे जाँच

एक्सन खबर
माघ, २८, २०८२


दाङमा सिकलसेलका बिरामीको परिक्षण सुरु, करिब ९ सयले गरे जाँच

दाङ्ग । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पश्चिम नेपालको थारु समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको ‘सिकलसेल एनिमिया’को बृहत् परीक्षण सुरु गरेको छ । प्रतिष्ठानमा यो निशुल्क परिक्षण यसअघि नै सुरु गरिसकिएको छ भने यसलाई पालिकास्तरमा पनि परीक्षणको काम सञ्चालन गरिएको छ ।

प्रतिष्ठानले पहिलो चरणमा ५ हजार जनाको निःशुल्क परीक्षण गर्ने तयारी गरेसँगै बुधबार देउखुरिलाई लक्षित गरेर राप्ती आधारभुत अस्पताल सिसहनियामा सिकलसेलको परीक्षण गरिएको हो । परीक्षणमा ५ सय बढि जनाको जाँच गरिएको निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानको संयोजनमा भएको शिविरमा २ सय ३५ जना पुरुष र ३ सय २८ जना महिला गरेर ५ सय ६३ जना लाभान्वित भएका थिए । प्रतिष्ठानले दिएको जानकारी अनुसार  अस्पतालमा मात्रै ३ सय २० जनाले जाँच गराएका छन् । शिविरमा डीन, डाईरेक्टर, २ जना फिजिसियन चिकित्सक, मेट्राेन, ४ जना नर्स, ल्याब टेक्निसियन ६ जना, बिएनएस विद्यार्थी ४ जना, नर्सिङ लेक्चरर १ र सेक्सन अफिसरको सहभागीता रहेको थियो ।

प्रतिष्ठानमा सिकलसेल परीक्षणका लागि अत्याधुनिक मेसिन जडान भएसँगै दाङ्ग भरी अभियान थालनी गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रातिष्ठानले दाङ्ग उपत्यकाभर सिकलसेल एनिमिया परीक्षण गर्ने कार्यक्रम शुरू गरेको हो । `यो आर्थिक वर्षमा पाँच हजार जनसंख्यामा परीक्षण गर्छौं । आगामी आ. व. २०८३/०८४ मा दश हजार जनसंख्याको परीक्षण गर्ने लक्ष्य रहेको छ-निमित्त उपकुलपति तथा रजिस्ट्रार लम्सालले भन्नुभयो-`क्रमश: दाङ जिल्लाका सबै जोखिममा रहेका सर्वसाधारणको परीक्षण गर्छौं । रजिस्ट्रार लम्सालले परीक्षणका साथ अनुसन्धान पनि गरिने बताउनु भयो ।

यो सिकलसेल सम्बन्धी विश्वमै सबैभन्दा बढी जनसंख्या समेटेको समुदायिक तहको  बहुवर्षिय अनुसन्धान हुने प्रतिष्ठानको भनाई छ । सिकल सेल सम्बन्धी नयाँ तथ्यहरू पहिचान हुने र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नीति निर्माण र जोखिम न्युनिकरण एवम् उपचार पद्दति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने हामीले विश्वास लिएका छौं, यो रोग मुख्यतया अफ्रिका, अमेरिकन् महादेश, युरोप, मध्यपूर्व एसिया, भारत र नेपालको थारू समुदायमा पाईन्छ-रजिस्ट्रार लम्सालले थप्दै भन्नुभयो-यसको उपचार पद्दतिको अझै पूर्णरूपमा विकास भैसकेको छैन, रोकथामका उपाय मात्र विकास भएका छन, विश्वभर करिब ८० लाख मान्छे रोगबाट ग्रसित र वार्षिक ५ लाख बच्चा रोग सहित जन्मिने क्रम छ ।´

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा प्रतिष्ठानले कार्यक्रम सञ्चालन गरिरहेको र यसलाई बृहत बनाउँदै लैजाने योजना रहेको प्रतिष्ठानका निमित्त डिन प्रा.डा. रमेश कँडेलले जानकारी दिनुभयो । यसअघि अफ्रिकामा ८ वटा देश मिलेर चौत्तिस हजार व्यक्तिमा अनुसन्धान भएको थियो भने प्रतिष्ठानले ३ वर्षमा पैतिस हजार व्यक्तिमा र ५ वर्षमा कम्तिमा ७० हजार व्यक्तिको परीक्षण गरी अनुसन्धान गर्ने लक्ष्य राखेको रजिस्ट्रार लम्सालले जानकारी दिनुभयो । 

प्रतिष्ठानमा सिकलसेल जाँच्ने मेसिन भित्रिएपछि पहिलो पटक बालबालिकादेखि वृद्ध वृद्धासम्म सुरुमा ५ हजार जनाको नमुना परीक्षण गरेर रोगको वास्तविक अवस्था पत्ता लगाइनेछ । यो परीक्षणले बिरामीको पहिचान मात्र नभई प्रतिष्ठान विश्वविद्यालयको अवधारणामा रहेकाले भविष्यमा अध्ययन र अनुसन्धानका लागि ठूलो मद्दत पुग्ने रजिस्ट्रार लम्सालको भनाइ छ । यस अभियानबाट प्राप्त तथ्यांकले रोगको रोकथाम र नियन्त्रणका लागि नीति तर्जुमा गर्न सरकारलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानका अस्पताल निमित्त निर्देशक प्रा.डा. पन्थीले अब सिकलसेलको परीक्षण र उपचारका लागि बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताउनु भयो । हाल प्रतिष्ठानमा ३ सय १५ जना सिकलसेलका बिरामीले नियमित औषधि उपचार सेवा लिइरहेका छन् । तथ्यांकअनुसार एक वर्षका शिशुदेखि ६५ वर्षका वृद्धसम्ममा यो रोग देखिएको छ भने एउटै परिवारका चार जनासम्म संक्रमित भेटिएका छन् । यो रोग विशेषगरी थारु समुदायमा बढी देखिए पनि पछिल्लो समय योगी र दलित समुदायमा समेत संक्रमण पुष्टि भएको छ ।

वैज्ञानिक अध्ययनअनुसार जहाँ ‘प्लाज्मोडियम फ्याल्सिपेरम’ नामक मलेरियाको प्रकोप बढी हुन्छ, त्यहाँका मानिसमा सिकलसेल एनिमिया बढी देखिएको छ । मलेरियाबाट बच्नका लागि मानव शरीरको रक्तकोषले आफूलाई परिवर्तन गरी गोलो आकारबाट हसिया जस्तो आकारमा बदल्ने प्रक्रिया नै सिकलसेल हो । हसिया आकारको रक्तकोषिकालाई मलेरियाले आक्रमण गर्न नसक्ने भएकाले यो एक प्रकारको प्राकृतिक प्रतिरक्षा प्रणालीको रूपमा विकास भएको मानिन्छ । 

नेपालमा दाङ, कपिलवस्तुदेखि कञ्चनपुरसम्मका थारु समुदायमा यो रोग वंशाणुगत रूपमा देखिएको छ । यो खानपानले सर्ने रोग नभई जिनबाट सर्ने रोग हो । आमा र बुवा दुवैमा सिकलसेल छ भने छोराछोरीमा सर्ने सम्भावना उच्च हुन्छ ।

यो रोग लागेका बिरामीमा शरीरमा रगतको कमी हुने अर्थात् रक्तअल्पताको समस्या देखिन्छ । यसका साथै हात-खुट्टाका जोर्नी, मेरुदण्ड र करङ अत्यधिक दुख्ने, जण्डिस देखिने, पेट दुख्ने, कलेजो र फियो सुन्निनेजस्ता लक्षणहरू देखा पर्छन् । विशेषगरी बालबालिकामा जाडोयाममा निमोनियाको जोखिम उच्च हुन्छ । रोग पहिचान नहुँदै ५० प्रतिशत संक्रमित बालबालिकाको निमोनियाका कारण मृत्यु हुने जोखिम रहने चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरूका अनुसार सिकलसेलको पूर्ण निको हुने यकिन उपचार नभए पनि समयमै पहिचान भएमा जीवन सहज बनाउन सकिन्छ । बिरामीले प्रशस्त पानी पिउन, झोलिलो र पोसिलो खानेकुरा खान तथा अत्यधिक गर्मी र जाडोबाट बच्न आवश्यक हुन्छ, किनकि चरम तापमानमा रक्तकोषिका हसिया आकारमा बदलिने जोखिम रहन्छ । साथै बालबालिकालाई निमोनियाबाट बचाउन नियमित खोप लगाउने र रगत बढाउन फोलिक एसिडको सेवन गर्नुपर्ने सुझाव चिकित्सकहरूको छ । रोगको लक्षण देखिएमा वा शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण गराउन प्रतिष्ठानले आग्रह गरेको छ ।














0 प्रतिकृया