Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


‘खराब नियतले काम गरिएको छैन, कमजोरी भए जिम्मेवारी लिन्छु’

एक्सन खबर
चैत, १२, २०८२


‘खराब नियतले काम गरिएको छैन, कमजोरी भए जिम्मेवारी लिन्छु’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो ६ महिने कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गरेकी छन् । भदौ २३ र २४ मा भएको ‘जेन्जी’ आन्दोलनपछिको जटिल परिस्थितिमा सरकारको नेतृत्व सम्हालेकी कार्कीले आफ्नो कार्यकालमा देशलाई पुनः लोकतान्त्रिक तथा संवैधानिक मार्गमा फर्काउन सफल भएको दाबी गर्दै सन्तोष व्यक्त गरिन् ।

सम्बोधनका क्रममा उनले भनिन्, “म आज पूर्ण आत्मविश्वासका साथ देशको उज्यालो भविष्य देखिरहेको छु, जहाँ हाम्रो एकता र इमानदारीले नयाँ इतिहास रच्नेछ ।” सम्बोधनको सुरुवातमै प्रधानमन्त्रीले ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । साथै, २ हजार ६ सयभन्दा बढी घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई राज्यले साथ नछोड्ने प्रतिबद्धता जनाइन् । 

त्यस्तै आन्दोलनबाट करिब ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उनले देश पुनर्निर्माणमा एकजुट हुन आह्वान पनि गरिन् । आफ्नो सरकारको प्रमुख उपलब्धिका रूपमा प्रतिनिधि सभाको निर्वाचनलाई उल्लेख गर्दै उनले फागुन २१ गते देशभर एकै चरणमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु ऐतिहासिक सफलता भएको बताइन् । निर्वाचन आयोग, सुरक्षा निकाय र मतदाताको सक्रियताप्रति उनले आभार प्रकट गरिन् ।

सुशासनतर्फ पनि प्रगति भएको दाबी गर्दै प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई व्यावसायिक स्वतन्त्रता प्रदान गरिएको जानकारी दिइन् । मंसिर २४ गते आन्दोलनकारी पक्षसँग भएको सम्झौताको कार्यान्वयनमा निरन्तरता दिन नयाँ सरकारलाई आग्रह गर्दै उनले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको उल्लेख गरिन् । साथै, प्रभावित उद्योग व्यवसायलाई राहत दिन ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ लागू गरिएको जानकारी दिइन् ।

युवाको नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारलाई शुभकामना दिँदै उनले भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनामा ठोस उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गरिन् । सम्बोधनको अन्त्यमा उनले भनिन्, “मेरो कार्यकालमा कुनै पनि काम खराब नियतले गरिएको छैन । यदि कमजोरी भए त्यसको जिम्मेवारी म स्वयम् लिन्छु, तर सफलताको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ ।”

हेर्नुहाेस् प्रधानमन्त्री कार्कीकाे संवाेधनकाे पूर्णपाठ













0 प्रतिकृया