Follow us:


Follow us

२२ चैत २०८२, आइतवार
२२ चैत २०८२, आइतवार


जेनजी आयोगको सिफारिस कार्यान्वयन, केपी ओलीसहित दोषीहरू कारबाहीको दायरामा

एक्सन खबर
चैत, १३, २०८२


जेनजी आयोगको सिफारिस कार्यान्वयन, केपी ओलीसहित दोषीहरू कारबाहीको दायरामा

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री नियुक्त भएसँगै विस्तार भएकाे १५ सदस्यीय मन्त्री परिषदकाे पहिलाे बैठकले जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हाे । 

यसअन्तर्गत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङ कारबाहीको दायरामा आउने भएका छन् । आयोगले उनीहरूलाई १० वर्षसम्म जेल सजाय सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । सुरक्षा संयन्त्रकाे हकमा भने अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने निर्णय गरेको सरकारका नवनियुक्त प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

ओलीलगायतको हकमा भने आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकाय (गृह मन्त्रालय लगायत) लाई निर्देशन दिने निर्णय भएको छ ।मन्त्रिपरिषद्ले निर्णय गरेर गृहले निर्देशन दिएपछि ओलीलगायतको हकमा प्रहरीले प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउँछ । अनुसन्धानका क्रममा प्रमाण सङ्कलन गरेर अभियोजनका लागि प्रहरीले सरकारी वकिल कहाँ पठाउँछ । सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दायर गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय गर्छ ।

आयोगले दोषी ठहर गरेका प्रमुख व्यक्तिहरूः

तत्कालीन प्रधानमन्त्री: केपी शर्मा ओली

तत्कालीन गृहमन्त्री: रमेश लेखक

तत्कालीन आईजीपी: चन्द्रकुवेर खापुङ

प्रशासनिक, सुरक्षा निकाय र सेनाका उच्च अधिकारीहरूमा पनि कारबाही सिफारिस ।

आन्दोलनमा भीड उक्साउने टीओबी समूहलाई पनि छानबिन सिफारिस ।

यस्तै, मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारकाे प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेकाे छ । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पाेखरेलले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरिएको बताए । 

यसैगरी बैठकले सरकारको शासकीय सुधारका लागि तयार पारिएको ‘१०० कार्यसूची’ स्वीकृत गरेको छ । उक्त कार्यसूची भोलिसम्ममा सार्वजनिक गरिने प्रवक्ता पोखरेलले जानकारी दिए ।














0 प्रतिकृया