सरकारकाे नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
एक्सन खबर
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रतिपक्षी सांसदहरूको बहिष्कार र विरोधबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएसँगै कार्यक्रम पारित भएको हो ।
प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जवाफ दिन संसदमा उपस्थित नभएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आफ्नै स्थानबाट उभिएर विरोध जारी राखेका थिए ।
प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले सर्वसम्मतिबाट नीति तथा कार्यक्रम पारित गरेको हो । बिहीबारको बैठक बहिष्कार गर्नेमा एमालेसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू रहेका थिए ।
एमालेबाहेक बाँकी तीन दलले सुरुदेखि नै बैठक बहिष्कार गरेका थिए भने कांग्रेस र एमालेका सांसदहरूले बैठक कक्षमै विरोध जारी राखे । विरोध र नाराबाजीबीच अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममा जवाफ दिन सुरु गरेका थिए । उनको जवाफ सकिएपछि एमाले सांसदहरूले पनि बैठक बहिष्कार गरेका हुन् ।
त्यसपछि नीति तथा कार्यक्रममा दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो । यसअघि प्रतिपक्षीहरूको विरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । सभामुख डिपी अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई दिएको जानकारी गराउँदै सांसदहरूलाई प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।
तर प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबिना संसद बैठक सञ्चालन गर्न नहुने अडान कायम राखे । विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाउँदै प्रधानमन्त्री स्वयंले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग दोहोर्याएका छन् ।
प्रधानमन्त्री शाह भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै रहे पनि संसद बैठकमा सहभागी भएका छैनन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा समेत उनी संसदबाट बाहिरिएका थिए । साथै विपक्षी दलका नेताहरूले संसदमा सम्बोधन गर्दा पनि उनी अनुपस्थित रहेका थिए ।
0 प्रतिकृया