Follow us:


Follow us

७ असार २०८३, आइतवार
७ असार २०८३, आइतवार


‘ब्रिटिस सरकारलाई मध्यस्थकर्ता होइन, प्रमाणको स्रोत भनेको हुँ’

एक्सन खबर
असार, ७, २०८३


‘ब्रिटिस सरकारलाई मध्यस्थकर्ता होइन, प्रमाणको स्रोत भनेको हुँ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सीमा विवादबारे आफूले संसदमा दिएको अभिव्यक्तिलाई लिएर उठेको विवादमा स्पष्टोक्ति दिएका छन् । उनले कालापानी–लिपुलेक नेपालको भूभाग भएको दाबी दोहोर्याउँदै आवश्यक परे ऐतिहासिक प्रमाण ब्रिटिस सरकारबाट समेत ल्याउन सकिने बताएको स्पष्ट पारे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफूले बेलायतलाई सीमा विवादको मध्यस्थकर्ता बनाउनुपर्ने आशय नराखेको बताए । “ब्रिटिस सरकारबाट प्रमाण ल्याउनुपर्छ भने पनि ल्याउँछौँ भनेको हुँ, ब्रिटिस सरकारलाई मध्यस्थकर्ता राख्छौँ भनेको होइन,” उनले भने ।

संसदमा दिएको अभिव्यक्तिपछि विभिन्न राजनीतिक दल र सरोकारवालाबाट आलोचना भएपछि शाहले महाधिवेशनको मञ्चबाट आफ्नो धारणा प्रस्ट पारेका हुन् । उनले नेपालको सीमासम्बन्धी विषयमा सरकार ऐतिहासिक तथ्य र प्रमाणका आधारमा अघि बढ्ने बताए ।

यसैबीच, प्रधानमन्त्री शाहले सरकारको काम गर्ने शैलीबारे पनि टिप्पणी गर्दै आफ्नो नेतृत्वको सरकारलाई ‘एक्सप्रेस वेमा गुडिरहेको गाडी’सँग तुलना गरे । सरकारले तय गरेको लक्ष्य प्राप्त नभएसम्म अनावश्यक अवरोध वा ब्रेक आवश्यक नरहेको उनको भनाइ थियो ।

“हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा नपुग्दै ब्रेक लगाउनु जरुरी छैन,” उनले भने, “सरकार अनियन्त्रित छैन, स्पष्ट गन्तव्यका साथ अघि बढिरहेको छ ।” प्रधानमन्त्रीको यो अभिव्यक्ति सरकारको कार्यशैली र सीमा सम्बन्धी नीतिबारे उठिरहेका प्रश्नहरूको जवाफका रूपमा हेरिएको छ ।













0 प्रतिकृया