Follow us:


Follow us

७ असार २०८३, आइतवार
७ असार २०८३, आइतवार


‘झुक्किएर बल मेरोमा आयो भने पनि बालेनलाई नै पास गर्छु’ रबि लामिछाने

एक्सन खबर
असार, ७, २०८३


‘झुक्किएर बल मेरोमा आयो भने पनि बालेनलाई नै पास गर्छु’ रबि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) लाई दिएको बताउँदै आफूले उनको नेतृत्वलाई पूर्ण साथ दिने बताएका छन् । चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले फुटबलको भाषामा सरकार सञ्चालन र पार्टीको भूमिकाबारे रोचक टिप्पणी गरेका हुन् ।

लामिछानेले रास्वपाले चुनावअघि नै प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार सञ्चालन गर्ने समझदारी बनाएको स्मरण गराउँदै अब परिणाम दिने जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा रहेको बताए । “सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनावअघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याएको छ । अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको हो,” उनले भने, “झुक्किएर बल मेरो खुट्टामा आइपुग्यो भने पनि म त्यही खुट्टामा पास गर्नेछु ।”

लामिछानेको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाह मञ्चमै मुस्कुराउँदै खुलेर हाँसेका थिए भने सभाहलमा उपस्थित कार्यकर्ता तथा प्रतिनिधिहरूले ताली बजाएर स्वागत गरेका थिए । लामिछानेले आफ्नो अभिव्यक्तिमार्फत सरकार र पार्टीबीचको समन्वय तथा साझा लक्ष्यप्रतिको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सम्बोधनका क्रममा उनले आलोचकहरूलाई लक्षित गर्दै आफू तत्कालीन राजनीतिक टिप्पणीको जवाफ दिन नभई इतिहासप्रति उत्तरदायी बन्न आएको बताए । “यहाँ मुख मिठ्याउने धेरै छन्, चुकुली लगाउने पनि धेरै छन् । म उनीहरूलाई जवाफ दिन बोलिरहेको छैन । म त इतिहासलाई जवाफ दिन खडा भएको छु,” उनले भने । उनले वर्तमान पुस्ताले मात्र नभई भविष्यका पुस्ताले पनि आफूहरूलाई अवसरको सदुपयोग किन गर्न नसकेको भनेर प्रश्न गर्न सक्ने उल्लेख गर्दै त्यो प्रश्नको उत्तर दिनसक्ने गरी काम गर्नुपर्ने धारणा राखे ।

लामिछानेले देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेप्रति पनि संकेत गर्दै उनीहरूलाई पार्टीभित्रका समस्या समाधान गर्न आग्रह गरे । “राष्ट्रिय राजनीतिमा रहेका दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेका आफ्नै अफ्ठ्यारा छन् । ती दलभित्रका समस्या समाधान भएनन् भने त्यो देशकै समस्या बन्न सक्छ,” उनले भने । उनले दलहरूलाई आन्तरिक विवाद व्यवस्थापन गर्दै राष्ट्रिय हितमा केन्द्रित हुन सुझाव दिए ।

यसअघि नेपाली राजनीतिक दलहरूबीच प्रतिस्पर्धाको राजनीति भएको उल्लेख गर्दै लामिछानेले रास्वपाले अब प्रतिस्पर्धाभन्दा सहकार्य, जिम्मेवारी र परिणामलाई प्राथमिकता दिनुपर्ने बताए । व्यक्तिगत वैमनस्यता र द्वन्द्व बोकेर राजनीति गर्ने समय समाप्त भइसकेको उनको भनाइ थियो । “हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन । ठूलो हृदय बोकेर देशका लागि काम गर्नुपर्छ,” उनले भने ।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यसूची समेत तय गरेको छ । महाधिवेशनबाट पुनः रवि लामिछानेकै नेतृत्वमा नयाँ कार्यसमिति गठन हुने अपेक्षा गरिएको छ । पार्टीले महाधिवेशनमार्फत संगठन विस्तार, नीति परिमार्जन र आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको जनाएको छ ।













0 प्रतिकृया